✍🏼पाव्लो नेरुदा
लेख्न सक्छु म आजको रात
सबैभन्दा उदास पङ्क्तिहरू
लेखूँ, जस्तै- 'रात छ ताराहरूले भरिएको,
तारा छन् निला, चम्किरहेका कतै टाढा ।'
आकाशमा घुम्छ रात्री हावा र गाउँछ ।
आजको रात लेख्न सक्छु सबैभन्दा उदास कविताहरू
मैले प्रेम गरेँ उनलाई, कहिलेकाहीँ उनले पनि प्रेम गरिन् मलाई ।
आजको रातजस्तो ती रातहरूमा थामेको हुन्थेँ उनलाई मैले पाखुरीमा
कतिपटक चुमेँ मैले उनलाई यो अन्तहिन आकाश तल ।
उनले मलाई प्रेम गरिन्, कहिलेकाहीँ मैले पनि प्रेम गरेँ उनलाई
कोही किन नगरोस् उनका ठूल्ठूला शान्त आँखाहरूसँग प्रेम ।
आजको रात लेख्न सक्छु सबैभन्दा उदास कविताहरू
सोच्दै कि छैनन् उनी मेरो नजिक । महसुस गर्दै कि गुमाएँ मैले उनलाई...
असीमसम्म जाने यस रातलाई सुन्दै
जो उनीबिना छ अझ बढी विशाल
चौरमा शीतजस्तो आत्मामा झर्छ कविता ।
के नै फरक पर्छ र ?
कि मेरो प्रेमले उनलाई सम्हाल्न सकेन
ताराहरूले भरिएको छ यो रात र उनी छैनन् मेरो साथमा ।
बस् यत्ति । कहीँ टाढा कोही गाइरहेछ
कहीँ टाढा...
मेरो आत्मामा कुनै आनन्द छैन उनलाई गुमाएर ।
उनलाई पाउने खोजीमा छन् मेरा नजर
कि ल्याउन सकुँ एकदम नजिक उनलाई
उनको बाटो हेर्छ मेरो दिल र उनी छैनन् नजिक मेरो
ठिक त्यस्तै रात तिनै रुखहरुमा जून चम्काउने
त्यो समयका हामी उस्तै छैनौँ ।
अब म उनलाई गर्दिन प्रेम, यो सत्य हो
तर मैले उनलाई कति प्रेम गरेँ
हावा खोज्थ्यो मेरो आवाज उनको कानलाई छुन ।
कोही अरुको/ कोही अरुकै होलिन् उनी
जस्तो थिइन् उनी मेरो चुम्बन उहिले
उनको आवाज उनको दीप्त शरीर
अनन्त देख्ने उनका आँखाहरू...!
अब म उनलाई प्रेम गर्दिन, सत्य हो
तर सायद म गर्छु प्रेम उनलाई
प्रेम कति छोटो छ र भुल्नु कति लामो ।
कि आजको रातजस्तो ती सबै रातहरूमा
म थामेको हुन्थेँ उनलाई पाखुरीमा
छैन कुनै आनन्द मेरो आत्मामा कि यसले गुमायो उनलाई ।
सायद यो अन्तिम दुख हो जो दिइरहेकी छिन् उनी
सायद यी अन्तिम कविता हुन् जो म उनका लागि लेखिरहेछु ।
-
Jigyasanepal