काठमाडौँ, ३० साउन । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेसँगै देशभर वर्षाको गतिविधि बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा रही नेपालनजिक रहेको छ।
शनिबार बिहान कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ। गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षासमेत भइरहेको छ।
दिउँसो कहाँ-कहाँ पानी पर्छ?
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
राति पनि वर्षा कायमै रहने
राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेस र कोसीका तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
काठमाडौँमा पनि पानी पर्ने
मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। विशेषगरी अपराह्नदेखि साँझतिर मध्यमसम्म वर्षा हुनसक्नेछ।
उनका अनुसार उपत्यकामा अत्यधिक वर्षाको सम्भावना भने छैन। मौसम केही समय घाम लाग्ने र केही समय बादल लाग्ने क्रमपछि वर्षा हुनसक्ने अनुमान गरिएको छ।
वर्षाको मात्रा कसरी छुट्याइन्छ?
हल्का वर्षा: २४ घण्टामा १० मिलिमिटरभन्दा कम
मध्यम वर्षा: १० देखि ५० मिलिमिटरभन्दा कम
भारी वर्षा: ५० देखि १०० मिलिमिटरभन्दा कम
धेरै भारी वर्षा: १०० देखि २०० मिलिमिटरभन्दा कम
अति भारी वर्षा: २०० मिलिमिटरभन्दा बढी
त्यसैगरी, एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम भूभाग, थोरै स्थान भन्नाले १०–३० प्रतिशत, केही स्थान भन्नाले ३०–५० प्रतिशत र धेरै स्थान भन्नाले ५०–८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना बुझिन्छ। ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना भए अधिकांश स्थान भनिन्छ।
-
Jigyasanepal