रोल्पा, २९ साउन । रोल्पाको थबाङ गाउँपालिका–५, उवा कोटलबारामा बुधबार राति गएको विनाशकारी पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोमा परेका थप तीन जना अझै बेपत्ता छन् भने दुई जना गम्भीर घाइते भएका छन्।
अविरल वर्षापछि गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरो खस्दा ९ वटा घर, एउटा घुम्ती पसल, दुईवटा गोठ र एउटा चर्च पुरिएका छन्। पहिरोमा परेकामध्ये घटनास्थलबाट पाँच जनाको शव फेला परेको छ भने बाढीले बगाएर लगेकामध्ये प्यूठानका विभिन्न स्थानबाट थप पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा फेला परेका मृतकमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनरखी पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
त्यस्तै, रोल्पाको लुङ्ग्री खोला र प्यूठानको माडी नदीका विभिन्न स्थानबाट ३८ वर्षीया जुनकुमारी पुन मगर, ५ वर्षीय अशोक पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर, ६६ वर्षीया मनी पुन मगर र ३४ वर्षीय महेन्द्र घर्तीको शव फेला परेको प्रहरीले जनाएको छ।
पहिरोमा परी तीन जना अझै बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
पहिरोबाट भागेर ज्यान जोगाएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। उनीहरूले राति प्रहरीको १०० नम्बरमा फोन गरी घटनाबारे जानकारी गराएका थिए। सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि दुवैलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएको छ।
पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भएपछि सुरक्षाकर्मी र स्थानीयवासीले उद्धार तथा खोजी कार्यलाई तीव्र बनाएका छन्। लगातारको वर्षाका कारण उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ।
-
Jigyasanepal