Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

मनसुन थप सक्रिय : आज देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको चेतावनी

  •   २ महिना अघि | २ साउन २०८३, शनिबार

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी प्रणाली थप सक्रिय बनेसँगै शनिबार विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ नेपालको तराई क्षेत्रनजिक तथा पूर्वी भागमा सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना देखिएको छ।

विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

रातिको समयमा पनि वर्षा जारी रहने अनुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

विभागका अनुसार निरन्तर वर्षाका कारण नदी–खोलामा आकस्मिक बहाव बढ्ने, बाढी, पहिरो, भूक्षय तथा डुबानको जोखिम उच्च रहनेछ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप