काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाका चार विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।
रोटरी क्लब अफ धुलिखेल सिखलापुरको सहयोग तथा सामाजिक अभियन्ता एवं पत्रकार **यदुनाथ गौतम ‘देउपुरे’**को विशेष पहलमा भदौ १ गते आयोजित छुट्टाछुट्टै कार्यक्रममा चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

सहयोगअन्तर्गत राधाकृष्ण घनश्याम आधारभूत विद्यालय, मण्डनदेउपुर–७का २२ जना, गोल्मेश्वरी आधारभूत विद्यालयका ४० जना, बिन्धवासिनी आधारभूत विद्यालय, मण्डनदेउपुर–४का १२ जना र देउपुर आधारभूत विद्यालय, मण्डनदेउपुर–३का २० जना विद्यार्थी लाभान्वित भएका छन्।
कार्यक्रममा रोटरी क्लब अफ धुलिखेल सिखलापुरका अध्यक्ष सञ्जय कोजुले क्लबको यो पहिलो सामाजिक कार्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा राजनीतिक व्यक्तित्व रञ्जिव श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाभित्र शिक्षा, खानेपानीलगायतका क्षेत्रमा आफूले काम गर्दै आएको बताए। उनले विद्यार्थीको शिक्षा र भविष्य निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै बालबालिकाको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रममा क्लबका सदस्यहरू रेखा श्रेष्ठ र जिया श्रेष्ठ, स्वयंसेवक खिल विक्रम श्रेष्ठलगायत सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।

विद्यालय परिवारले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएकोमा रोटरी क्लब अफ धुलिखेल सिखलापुरप्रति आभार व्यक्त गरेको छ। सहयोगका लागि पहल, समन्वय र सहजीकरण गरेको भन्दै सामाजिक अभियन्ता एवं पत्रकार **यदुनाथ गौतम ‘देउपुरे’**लाई पनि विद्यालय परिवारले विशेष धन्यवाद दिएको छ।
आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध हुँदा उनीहरूको शैक्षिक यात्रामा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गरिएको छ। झोला, कापी–कलमलगायतका सामग्री प्राप्त भएपछि विद्यार्थीमा अध्ययनप्रतिको उत्साहसमेत बढ्ने अपेक्षा गरिएको छ।
स्थानीय तह, सामाजिक संस्था, अभियन्ता र समुदायबीचको सहकार्यबाट बालबालिकाको शिक्षामा गरिने यस्ता सहयोगले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

-
Jigyasanepal