काठमाडौं: नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु, र भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय प्रणालीको प्रभावले मौसममा केही उतार-चढाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली हुनेछ भने अन्य भूभागहरूमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
सोमबार: बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा, साथै तराईका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपातको संभावना छ।
सोमबार राति: कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना कायम रहनेछ।
मंगलबार: कोशी, बागमती, र गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात हुने अनुमान छ।
बुधबार: मौसममा सुधार हुने अपेक्षा गरिएको छ र अधिकांश भूभागमा मौसम सफा रहनेछ।
यसरी आगामी तीन दिनमा केही वर्षा र हिमपातको सम्भावना रहेकोले यात्रामा सचेत रहन र आवश्यक तयारी गर्न महाशाखाले सल्लाह दिएको छ।
- RSS