डडेलधुरा, आलिताल – डडेलधुराको आलिताल गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार दुर्घटनामा ३२ वर्षीय चालक दलबहादुर साउदको ज्यान गएको हो।
मंगलबार बिहान करिब १०:३० बजे सुपप्र ०१००२त ६३८२ नम्बरको ट्याक्टर आलिताल–२, डोवरास्थित गाङखेत–आलिताल ग्रामीण सडकमा दुर्घटनाग्रस्त भएको थियो। ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका साउदको घटनास्थलमै ज्यान गएको जनाइएको छ। शवलाई पोष्टमार्टमका लागि डडेलधुरा अस्पताल लैजाने तयारी भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
- Jigyasa media