काठमाडौं: दशैंको टीका लगाउने परम्परा आज आश्विन शुक्ल एकादशीका दिन पनि जारी रहेको छ। नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाइने चलन छ, जसले दशैंको धार्मिक महत्त्वलाई लामो समयसम्म कायम राख्दछ। विजयादशमीको मुख्य दिनमा टीका ग्रहण गरेकाहरूले अझै टाढाका आफन्तजनसम्म पुग्न नसकेकाले पूर्णिमासम्म यो परम्परा निरन्तर चलिरहेको छ।
नेपालको पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईले यस प्रचलनलाई समाजको धार्मिक विविधता र परम्परासँग जोडेर हेर्नुपर्ने बताए। पूर्वी र मध्य नेपालमा पूर्णिमासम्म टीका लगाउने चलन भए पनि पश्चिम नेपालका कतिपय स्थानमा दुर्गा विसर्जनको भोलिपल्ट नै टीका ग्रहण गर्ने चलन बसिसकेको छ।
यसैगरी, आजको एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा पनि मनाइँदैछ। धार्मिक मान्यताअनुसार आज व्रत बसेमा विगतमा जानी-नजानी गरिएका पाप नाश हुने विश्वास गरिन्छ।
- Jigyasa media