विराटनगर ।: मोरङको सुनवर्षी नगरपालिकाबाट प्रहरीले तास खेल्दै गरेका चार जनालाई बिहीबार साँझ पक्राउ गरेको छ। छापामार कार्यवाहीको क्रममा तासको खालबाट १ लाख ८२ हजार रुपैयाँ नगद बरामद गरिएको हो।
पक्राउ परेकाहरूमा सुनवर्षी नगरपालिका–९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशी, ४७ वर्षीय सुरेशप्रसाद साह, सुनवर्षी–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपालिका–७ का ४६ वर्षीय उमेश पौदार रहेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा छापा मारिएको जानकारी दिए।
तास खेलिरहेको अवस्थामा छापामार टोलीले साँझ ५:३० बजे खालमा छापा हान्दा ३ बुक तास र १ लाख ८२ हजार रुपैयाँ नगद बरामद भएको डीएसपी जोशीले बताए। पक्राउ परेकाहरुलाई हिरासतमा राखिएको छ भने उनीहरुमाथि थप अनुसन्धानका लागि म्याद थपको तयारी भइरहेको छ।
- Jigyasa media