काठमाडौं । ताप्लेजुङमा रेडपाण्डा संरक्षणलाई सशक्त बनाउन हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा झन्डै दुई करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। संस्थाले रेडपाण्डा नेटवर्कको सहयोगमा ४१ कार्यक्रम सञ्चालन गर्नका लागि एक करोड ९२ लाख ५५ हजार आठ सय ३३ रुपैयाँको बजेट विनियोजन गरेको छ।
हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार, यस बजेटले कर्मचारीको तलब, कार्यालय सञ्चालन, अनुसन्धान तथा अनुगमन, शिक्षा र जनचेतना, दिगो जीविकोपार्जन, र पर्यापर्यटन प्रवद्र्धनजस्ता विभिन्न क्षेत्रमा खर्च गरिनेछ।
फुङलिङ नगरपालिका लगायतका क्षेत्रमा सक्रिय मञ्चले रेडपाण्डा संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत वन अभिभावकको पुनर्ताजगी तालिम, अनुगमन ब्लकको पुनःरेखाङ्कन, नियमित अनुगमन, सामुदायिक वनमा चोरी–सिकारी तथा चोरी–निकासीको अनुगमन, आवश्यक उपकरण खरिद, र रेडपाण्डा बुलेटिन प्रकाशनजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना छ।
जनचेतना अभिवृद्धिका लागि मञ्चले प्रमुख रेडपाण्डा बासस्थान भएका क्षेत्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने, रेडपाण्डा संरक्षण पुरस्कार वितरण, सचेतना बोर्डको स्थापना, वृत्तचित्र निर्माण, पोस्टर र पम्प्लेट छपाइ, तथा रेडपाण्डाको आहारका बिरुवा उत्पादन गर्न नर्सरी निर्माण गर्ने कार्यहरू पनि अघि बढाएको छ।
यो वर्ष पाथीभरा क्षेत्रमा वन्यजन्तुका लागि आकाशे पुल निर्माण गरिनेछ, जसले संरक्षणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। यसका अतिरिक्त मञ्चले अल्लो कपडा बुनाइ, सिलाइ कटाइ, प्रविधि हस्तान्तरण, गोठमा बस्नेहरूका लागि सोलार सेट वितरण, रेडपाण्डा बासस्थान व्यवस्थापन, बेसलाइन सर्वे, र हिमालयन हाब्रे सेन्टरको थप व्यवस्थापनसमेत गर्ने योजना बनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख तथा सल्लाहकार समिति अध्यक्ष छिरिङ लामाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणमा सबै स्थानीय तहसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले संरक्षणको चुनौतीलाई समन्वय र साझेदारीको माध्यमबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।
विसं २०७० मा भएको एक सर्भेअनुसार ताप्लेजुङमा एक सय ३४ रेडपाण्डा रहेको तथ्याङ्क रहेको छ। रेडपाण्डाको संरक्षणले ताप्लेजुङको प्राकृतिक सम्पदा मात्र नभई, स्थानीय समुदायको जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
- Jigyasa media