नयाँ दिल्ली । भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्या भएकी सहकर्मीलाई न्याय दिलाउन कडा कानूनको माग गरेका हुन्।
"न्यायमा ढिलाइ हुनु न्याय नपाउनु हो" जस्ता नारासहित प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले मन्त्रालयबाहिर निःशुल्क बहिरङ्ग सेवा स्थापना गर्न खोज्दा प्रहरीद्वारा रोकिन पुगेका थिए।
पश्चिम बंगालको कोलकातामा अगस्ट ९ मा ३१ वर्षीया प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्यापछि चिकित्सकहरूले भारतभर विरोध प्रदर्शन र क्यान्डल लाइट मार्च गरेका छन्। उनीहरूले गैर–आकस्मिक बिरामीहरूको हेरचाह अस्थायीरूपमा अस्वीकार गर्दै आक्रोश व्यक्त गरेका छन्।
यस घटनाले भारतभरका अस्पताल र मेडिकल क्याम्पसहरूमा स्वास्थ्य सेवाकर्मीहरूको सुरक्षाको सवाललाई उजागर गरेको छ। चिकित्सकहरूले ड्युटीमा रहेका चिकित्सकहरूमाथि हुने आक्रमणलाई जमानतविहीन अपराध बनाउने, अस्पतालमा सुरक्षा बढाउने र आरामको लागि सुरक्षित स्थान बनाउनेजस्ता कडा कानूनको माग गरेका छन्।
प्रदर्शनकारी चिकित्सक डेजी सिंहले भनिन्, "यदि एउटी महिला कार्यस्थलमा, अस्पतालमा सुरक्षित छैनन् भने यस मुलुकमा कुन महिला सुरक्षित छन्?"
सरकारले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको माग सम्बोधन गर्न समिति गठन गर्ने घोषणा गरेको छ। कोलकाताको आर जी मेडिकल कलेज एन्ड हस्पिटलमा प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याले महिलाविरुद्धको हिंसाको पुरानो मुद्दामा आक्रोश बढाएको छ।
अस्पतालमा कार्यरत एक प्रहरी स्वयंसेवकलाई अपराधको आरोप लगाई पक्राउ गरिएको छ भने पीडितको परिवारले यो सामूहिक बलात्कार भएको र यसमा थप व्यक्ति संलग्न रहेको दाबी गरेको छ। संघीय अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
हजारौँ मानिस, विशेषगरी महिलाहरू, चिकित्सकलाई न्यायको माग गर्दै कोलकातामा जुलुस निकालेका छन्। २०१२ मा दिल्लीमा गुडिरहेको बसमा भएको सामूहिक बलात्कार र हत्यापछि लागु गरिएको कडा कानूनका बाबजुद पनि महिलाहरूले भारतमा बढ्दो हिंसाको सामना गर्नुपरेको बताएका छन्।
राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार, सन् २०२२ मा भारतमा बलात्कारका ३१ हजार पाँच सय १६ घटनाको रिपोर्ट दर्ता गरिएको थियो, जुन सन् २०२१ को तुलनामा २० प्रतिशतले बढी हो।
रासस, एपी
- RSS