सर्लाही । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष, ४३ वर्षीय अरविन्दकुमार यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटना शुक्रबार राति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको हो।
कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल शुक्रबार राति ९:३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको थियो। सर्लाही प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहका अनुसार, उक्त दुर्घटनामा यादवको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी उपरीक्षक सिंहले यादवले चलाएको मोटरसाइकलले एक साइकललाई ठक्कर दिएको र त्यसपछि साइकल चालक फरार भएको बताए। सिंहले भने, "साइकल, चप्पल, र मोबाइलको खोल घटनास्थलमै फेला परेको छ, तर साइकल चालक भागेको देखिन्छ। पूर्ववडाध्यक्षको घटनास्थलमै मृत्यु भएपछि साइकल चालक डरले भागेको हुन सक्छ।"
प्रहरीले साइकल चालकको खोजी कार्य जारी राखेको छ र दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको थियो।
यादव नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य थिए र २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
- Jigyasa media