काठमाण्डौ ।
आज दशैंको छैठौं दिन अर्थात् कात्यायनी देवीको पूजा गरिन्छ। नवदुर्गाका छैठौं अवतारका रूपमा कात्यायनीलाई पूजिन्छ, जो साहस, विजय र न्यायकी देवी हुन्। उनले महिषासुरको वध गरी देवताहरूलाई दानवी शक्तिबाट मुक्त गराएकी थिइन्। देवी कात्यायनीको पूजा गरेमा जीवनमा आउने सबै कठिनाइहरू र नकारात्मक शक्तिहरूलाई पराजित गरी सफलता र शान्ति प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ।
पूजा विधि:
1. स्नान: स्नान गरेर शुद्ध मनले पूजा स्थल तयार गर्नुहोस्।
2. कलश स्थापना: पूजास्थलमा गंगा जल वा शुद्ध जल राखेर कलश स्थापना गर्नुहोस्।
3. अभिषेक: देवीको मूर्ति वा तस्वीरमा गंगा जल, केसर मिश्रित दूध, र शुद्ध जलले अभिषेक गर्नुहोस्।
4. पुष्प अर्पण: रातो रङका फूलहरू देवीलाई अर्पण गर्नुपर्छ। विशेष गरी रातो गुलाब वा कमलको फूल उत्तम मानिन्छ।
5. मन्त्र जप: कात्यायनी देवीको मन्त्र “ॐ देवी कात्यायन्यै नमः” १०८ पटक जप गर्नुहोस्।
6. नैवेद्य: देवीलाई दूध, मिष्ठान्न (मिठाई), र फलफूल चढाउनुपर्छ।
7. दीप प्रज्वलन: घ्यूको दियो बालेर देवीको आरती गर्नुपर्छ।
8. प्रसाद वितरण: पूजा सम्पन्न भएपछि नैवेद्य प्रसादको रूपमा ग्रहण गरेर वितरण गर्नुपर्छ ।
महत्त्व:
कात्यायनी देवीको पूजा विशेष गरी मानसिक, शारीरिक र आध्यात्मिक शक्ति प्राप्त गर्न गरिन्छ। उनको कृपा प्राप्त गरी जीवनका सबै बाधा अड्चनहरू हटाउन, न्याय र धर्मको मार्गमा सफलताको कामना गरिन्छ। आजको दिन विशेष गरेर महिलाहरूले देवीको पूजा गर्दा आफ्नो परिवारमा सुख, शान्ति, र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
किम्बदन्ती:
कात्यायनी देवीको जन्म सम्बन्धी किम्बदन्ती अनुसार, कात्यायन ऋषिले महादेव, विष्णु, र ब्रह्मासँग कठोर तपस्या गरी देवीको जन्म आफ्नो घरमा हुने वरदान पाए। त्यसपछि देवी कात्यायनी ऋषिको घरमा जन्म भइन् र महिषासुरसँग युद्ध गरी अन्ततः उसको बध गरिन्। त्यसयता, उनी महिषासुर मर्दिनीका रूपमा पूजा गरिन्छिन्, जसले असुर शक्तिलाई समाप्त गरेर धर्म र सत्यलाई पुनःस्थापित गरिन्।
कात्यायनी देवीको पूजाले साहस, शक्ति, र विजय प्राप्त हुने विश्वासले आजको दिनलाई विशेष महत्त्व दिइन्छ।
- Jigyasa media