काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिनको बिहान दुई घण्टा राष्ट्रिय महिला भलिबल टोलीसँग बिताएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको यो भेटमा खेलाडी, प्रशिक्षक, र प्रधानमन्त्रीबीच भलिबल खेलको उपलब्धि, पूर्वाधार विकास, र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको सफलता सुनिश्चित गर्ने विषयमा छलफल भयो।
यो अवसरमा नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, र अन्य खेलाडीहरू सहभागी थिए। खेलाडीहरूले प्रधानमन्त्री ओलीसँग यस्तो भलाकुसारीको मौका पाएकोमा उत्साह प्रकट गरेका छन्।
प्रधानमन्त्री ओलीले दुई हप्ता अघि सम्पन्न 'काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता' मा आफू सहभागी हुन नसकेकोमा खेद व्यक्त गर्दै, खेलाडीहरूको प्रगति, चाहना, र मागबारे आफू जानकार रहेको बताए। उनले प्रतियोगितामा उपविजेता बनेका खेलाडीहरूलाई नेपाल सरकारले जनही रु तीन लाख दिने घोषणा पनि गरे।
भलिबल खेलको विकासका लागि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल निर्माण गर्ने प्रतिवद्धता जनाए। उनले भने, "सरकारको ढुकुटीमा धेरै रकम छैन, तर खेलको विकासका लागि आवश्यक कामहरू गर्न हामी प्रतिबद्ध छौं। आगामी खेलमा जित्ने मनोबल राखेर खेल्नुस्, सफलता पक्कै मिल्नेछ।"
प्रधानमन्त्रीले गत महिना रुसी महिला भलिबल खेलाडीहरूले नेपाली टोलीको प्रशंसा गरेको स्मरण गर्दै, नेपाली टोलीमा ठूलो सम्भावना रहेको उल्लेख गरे।
- Jigyasa media