बीपी राजमार्गमा शनिबार रातिदेखि १५ दिन सवारी आवागमन बन्द हुने गृह मन्त्रालयको निर्णय

  •   १ वर्ष अघि | ६ असार २०८२, शुक्रबार

काभ्रेपलाञ्चोक, असार ६ । मनसुनजन्य प्राकृतिक विपद्‌को जोखिमलाई ध्यानमा राख्दै काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिहरूको निर्णय अनुसार बीपी राजमार्गमा रात्रीकालीन सवारी सञ्चालन पूर्णरूपमा बन्द गरिने भएको छ।

गृह मन्त्रालयको समन्वयमा आज बसेको अन्तर जिल्ला समन्वय बैठकले यस्तो निर्णय लिएको हो। निर्णयअनुसार असार ७ गते (शनिबार) साँझ ६:३० बजेदेखि बिहान ५:०० बजेसम्म बीपी राजमार्ग हुँदै संचालन हुने सबै यात्रुबाहक निजी तथा सार्वजनिक सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको छ। यो नियम १५ दिनसम्म लागू हुनेछ। मनसुनको जोखिमबाट नागरिकको सुरक्षा पहिलो प्राथमिकता दिन यस्तो निर्णय गरिएको बताइएको छ । यो असार २१ गते सम्म राजमार्ग बन्द रहने निर्णय गरिएको बताइएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको निर्णयमा उल्लेख छ कि हालसालैको लगातारको वर्षाले पहिरो, सडक अवरोध र दुर्घटनाको सम्भावना बढेकाले सावधानीस्वरूप सवारी सञ्चालनमा रोक लगाइएको हो।


विशेषतः बीपी राजमार्गको अत्यन्त संवेदनशील भू–भागहरूमा रातको समयमा दुर्घटना बढ्ने जोखिम उच्च देखिएको भन्दै जनजीवनको सुरक्षा र आपत्कालीन जोखिम न्यूनीकरण गर्न यस्तो व्यवस्था गरिएको बताइएको छ।

सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

प्रहरीले सवारी साधन चालक, यात्रु, यातायात व्यवसायी र स्थानीय प्रशासनलाई उक्त निर्णयको पालना गर्न र आवश्यक परेको खण्डमा वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरेको छ। यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै सवारीलाई रातिको समयमा बीपी राजमार्ग प्रयोग नगर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी: मिन बहादुर घलेले जानकारी दिए ।

  • Jigyasanepal

थप