खोटाङ – सिकार खेल्न गएका दुई साथीमध्ये एकजनाको मृग ठानेर हानेको गोली लाग्दा घटनास्थलमै मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईलाई स्थानीय २५ वर्षीय चेतन राईले हानेको भरुवा बन्दुकको गोली लागेको हो। बुधबार राति फेदीको हात्तीढुंगे जंगलमा सिकारका क्रममा यो दुखद घटना भएको हो।
चेतनले मृग ठानेर प्रहार गरेको गोली जगतप्रसादलाई लागेको स्वयम् चेतनले स्वीकार गरेका छन्। घटनाका साक्षी स्थानीय नेता लक्ष्मण साम्पाङका अनुसार, "रातको समयमा सिकार खेल्न गएका दुईजना साथीमध्ये चेतनले मृग भनेर गोली चलाएका थिए, तर गल्तीले त्यो गोली साथी जगतप्रसादलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भयो।"
घटना पश्चात चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतनले आफ्नो गल्ती स्वीकार गर्दै मृग ठानेर प्रहार गरिएको गोली साथीलाई लागेको बताएका छन्। बन्दुकको आवाज सुनेर घटनास्थलमा पुगेका स्थानीयले जगतप्रसादको छातीबाट रगत बगिरहेको देखेका थिए। चेतन भाग्दै गरेको अवस्थामा फेला परेका थिए, तर पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
घटनाको जानकारी प्रहरी चौकी खार्ताम्छालाई दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले सुरक्षा व्यवस्था गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो। प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा पुगेको टोलीले घटनास्थलबाट सिकारका लागि प्रयोग भएको खाली गोली र एक लोड गरिएको भरुवा बन्दुक बरामद गरेको छ।
जिल्लाका स्थानीयले मनोरञ्जन, मासु, तथा हाडखोर बिक्रीका लागि बाघ, भालु, मृगलगायतका जनावरको सिकार गर्दै आएका छन्। साथै, लोपोन्मुख जीवजन्तु रेडपाण्डा, सालक र हुचिलसमेत नियन्त्रणमा लिएर बिक्री गर्ने गरिएको स्थानीयले जनाएका छन्। यसरी चोरी सिकारका घटनामा कानुनी कारबाही नहुँदा जिल्लामा लोपोन्मुख जीवजन्तु हराउँदै
गएका छन्।
- Jigyasa media