काठमाडौँ । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट २११ जनाको मृत्यु भएको छ। यस अवधिमा ४८ जना बेपत्ता भएका छन् भने १४३ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।
गत जेठ २८ पछि मनसुनजन्य घटनाबाट १७० जना र अन्य विपद्बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताएका छन्। उनका अनुसार, अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायतका घटनाहरू समावेश छन्। यस वर्ष मनसुन जेठ २८ मा नेपाल प्रवेश गरेको थियो।
प्रवक्ता भट्टराईका अनुसार, यसपालि सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशमा भएको छ, जहाँ ५८/५८ जनाको मृत्यु भएको छ। त्यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
यो अवधिमा १,३३३ विपद्जन्य घटनामा ३,६४७ परिवार प्रभावित भएका छन्। सबैभन्दा बढी ४०५ घटना कोशी प्रदेशमा भएका छन्, जसमा १,२१२ परिवार प्रभावित भएका छन्। मधेश प्रदेशमा ५१३, बागमतीमा ४७१, गण्डकीमा ४३७, लुम्बिनीमा ३२६, कर्णालीमा २४०, र सुदूरपश्चिममा ४४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राप्त विवरणअनुसार, यस अवधिमा कोशीमा २, बागमतीमा ४०, गण्डकीमा ३, लुम्बिनीमा २, र कर्णालीमा १ जना बेपत्ता भएका छन्।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार, अघिल्लो वर्षको तुलनामा यस वर्ष मानवीय क्षति धेरै भएको छ। अघिल्लो वर्ष सोही अवधिमा ७२ जनाको मृत्यु भएको थियो। यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमानसँगै विपद्को जोखिम बढेको छ, जसले पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक कामको आवश्यकता झन् बढाएको छ।
- Jigyasa media