धरान, असोज २१ – धरान प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित संखुवासभाका एक व्यक्तिलाई पक्राउ गरेको छ। आइतबार साँझ धरान उपमहानगरपालिका–९, बगैँचा चोकस्थित ललित राईको घरमा डेरा गरी बस्दै आएका ३१ वर्षीय सुरज गुरुङ, उर्फ 'भेडा', लागुऔषधसहित पक्राउ परेका हुन्। गुरुङ संखुवासभाको धर्मदेवी नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।
धरान प्रहरीलाई गुरुङले लागुऔषधको कारोबार गर्दै आएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवश कुँवरको नेतृत्वमा प्रहरी टोलीले गुरुङको कोठामा छापा मारी उनलाई नियन्त्रणमा लिएको हो। धरानका डीएसपी प्रकाश जबेगुले गुरुङको कोठाबाट दुईवटा जेब्रा झोलामा लुकाएर राखिएको ट्रमनिलका ७ हजार ८६० क्याप्सुल र स्पास्मोका ८ हजार ४३० ट्याब्लेट बरामद गरिएको जानकारी दिए।
गुरुङविरुद्ध लागुऔषध कारोबारको अभियोगमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने थप अनुसन्धान कार्य जारी छ। धरान र आसपासका क्षेत्रमा भारत–नेपाल सीमा सुरक्षामा पर्याप्त कडाइ नहुँदा धरान हुँदै लागुऔषधको ओसारपसार बढेको स्थानीयवासीले बताउँदै आएका छन्।
धरान प्रहरीको यस सफलताले लागू औषध तस्करी विरुद्धको प्रयासलाई थप बल मिलेको छ।
- Jigyasa media