काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आइरहेको सो कार आज करिब साँझ नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सुनकोसी नदीमा हाइलक्स गाडी सहित तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भक्तपुरका अविन बाक्य, बलराम घटुवा, र पुनित जैरु रहेको जानकारी प्राप्त भएको छ।
गाडीमा सवार सुसान्त कक्षपती भने पौडिएर पानीबाट निस्कन सफल भएका छन्, तर उनी घाइते भएका छन्। घाइते कक्षपतीलाई उपचारका लागि खुर्कोटस्थित स्वास्थ्य संस्थामा पठाइएको छ। बेपत्ता गाडीको नम्बर खुल्न सकेको छैन।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, र स्थानीयहरू बेपत्ता गाडी र यात्रुको खोजी तथा उद्धारमा खटिएका छन्। घटनास्थलमा सशस्त्र प्रहरीको खुर्कोटस्थित गोताखोर टोलीले नदीभित्र गाडी र यात्रुको खोजी थालेको गोलन्जोर गाउँपालिका-१ का वडाध्यक्ष सोम प्रसाद बरालले जानकारी दिए।
गाडी सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको र नदीमा घुमाउने दह भएको कारणले उद्धारमा कठिनाइ भएको वडाध्यक्ष बरालले बताए।
रासस
- Jigyasa media