काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धान गर्न उनीहरूलाई थुनामा राख्ने अनुमति प्रदान गरिएको हो।
अदालतको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान तीव्र पारेको छ। प्रारम्भिक अनुसन्धानअनुसार सहकारीबाट १ अर्बभन्दा बढी रकम विभिन्न १६ कम्पनीमार्फत अपचलन भएको पाइएको छ।
यसअघि स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष गीतेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेलसहित २४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको थियो। अहिले रवि लामिछाने र छविलाल जोशी कास्की जिल्लाको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिएर हिरासतमा छन्।
सहकारी अपचलनको यो घटना सहकारी क्षेत्रको विश्वसनीयतामाथि गम्भीर चुनौती बनेको छ। बागमती प्रदेशको सहकारी मन्त्रालयले ११ महिना अघि नै अडिट फाइल पठाउँदै यो प्रकरणको छानबिन गर्न सिफारिस गरेको थियो।
प्रहरीका अनुसार ठगीमा संलग्नहरूले सहकारीको बचत रकम अनियमित रूपमा विभिन्न कम्पनीमा लगानी गरेका थिए। सहकारी क्षेत्रको नियमन र पारदर्शिताका लागि सरकारले थप कडा कदम चाल्नुपर्ने आवाज उठ्न थालेको छ।
यो प्रकरणले सहकारी प्रणाली सुधार्न र अपचलन रोक्न कानुनी र व्यवस्थापकीय सुधारको आवश्यकता औंल्याएको छ।
रवि लामिछाने पक्राउको विरोधमा रास्वपाको दोस्रो चरणको आन्दोलन घोषणा
यसै बीच यता सभापति रवि लामिछानेको पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। प्रवक्ता मनिष झाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर ८ गतेदेखि आन्दोलन सुरु गर्ने जानकारी दिए।
झाले लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गर्दै, राजनीतिक प्रतिशोध बन्द गर्न र सहकारी पीडितको रकम फिर्ता गर्न सरकारलाई दबाब दिने बताएका छन्। साथै, स्वतन्त्र न्यायिक आयोग गठन र फौजदारी कानुन संशोधनको माग पनि उठाइएको छ।
लामिछानेमाथि सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान जारी छ।
- Jigyasa media