झापा: बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिएको आरोपमा पक्राउ परेका छन्। उनी सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिँदालिँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरूले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।
विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले वडाध्यक्ष ओलीलाई मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान कम्प्लेक्स बाहिरबाट घुस रकमसहित पक्राउ गरिएको जानकारी दिए। ओलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ, र थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली इटहरीबाट आउँदै गरेको जनाइएको छ।
घटनाको पृष्ठभूमि अनुसार भारतीय नागरिक अमरनाथ चौहानले बुद्धशान्ति गाउँपालिकामा व्यवसाय सञ्चालनका लागि चतुर्भुज घिमिरेसँग सहकार्य गरेका थिए। चौहानले २३ लाख २० हजार रुपैयाँ दिएको भए पनि घिमिरेले आफ्नो नाममा जग्गा राखेका थिए। चौहानले वडाध्यक्ष ओलीको रोहबरमा रकम फिर्ता वा जग्गा नामसारी गर्ने सर्तमा सम्झौता गरेपछि घुसको माग उठेको थियो। ओलीले चौहानसँग एक लाख भारु मागेपछि चौहानले ५० हजार भारु दिन सक्ने बताए। तर, चौहानले यो कुरा विप्लव माओवादीका कार्यकर्तालाई जानकारी दिएपछि ओलीलाई पक्राउ गरिएकोहो।
- Jigyasa media