झापा – झापा भद्रपुर नगरपालिका–६ टेलिभिट्टा निवासी ३२ वर्षीया बबिता राजवंशीको भारतमा हत्या भएको छ। उनको शव पश्चिम बंगालको दार्जिलिङ जिल्लाको खोरीबारी थाना क्षेत्र अन्तर्गत बिन्नागुरी ग्राम पञ्चायत हारिभिट्टा नजिकको केराको बगानमा कुहिएको अवस्थामा फेला परेको हो।
खोरीबारी पुलिसले असोज २ गते कुहिएको शव भेटिएको जानकारी दिए। शवलाई केराको पत्ताले छोपिएको अवस्थामा फेला पारिएको थियो, जसको अनुहार किराले खाइसकेको कारण पहिचान गर्न कठिन भएको थियो। गन्हाएको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटना स्थल नेपाल–भारत सीमा नाका भद्रपुरदेखि करिब दुई किलोमिटर पूर्व उत्तरमा पर्छ। शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि उत्तरबंग मेडिकल कलेजमा पठाइएको थियो। घटना भएको पाँच दिनपछि ती शव बबिता राजवंशीको रहेको खुल्न आएको हो।
मृतक बबिता सागसब्जी बेच्ने काम गर्थिन्। भदौ ३० गते सीमावर्ती भारतीय बजार सागसब्जी लिन गएको बताइएको छ। हराइरहेकी बबिताको शव फेला परेको खबरले परिवारजनलाई झस्काएको थियो। उनका परिवारजनले बबिताले लगाएको कपडाका आधारमा शवको पहिचान गरेका थिए।
बबिताका जेठाजु जितेन राजवंशीका अनुसार, उनलाई हत्या गरी केराको बगानमा लुकाएर राखिएको हुनसक्छ। घटना शंकास्पद देखिएकाले परिवारजनले खोरीबारी पुलिस थानामा चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
उक्त अभियोगमा भारतीय नागरिक प्रतिमा बानिक, बालचन्द्र बानिक, दधिराम बर्मन र सहदेव बानिक रहेका छन्। उनीहरूसँग बबिताको आर्थिक लेनदेन रहेको खुलाइएको छ। नेपाली प्रहरीसँग समन्वय गरेर बबिताको शव सोमबार दिउँसो घर ल्याएर अन्तिम संस्कार गरिएको छ।
- Jigyasa media