बाजुरा ।
बाजुरामा आइतबार दुई स्थानमा भएका जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्।
मार्तडीको स्कारपियो दुर्घटना
जिल्ला सदरमुकाम मार्तडीमा स्कारपियो जिप दुर्घटनामा परी कञ्चनपुरकी ३१ वर्षीया गायत्री पन्तको घटनास्थलमै मृत्यु भएको छ भने १८ वर्षीया राधिका भट्टको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो।
बडीमालिका नगरपालिका-८ स्थित मालिका मन्दिरको दर्शन गरेर फर्कने क्रममा सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो मार्तडी-कोल्टी सडकखण्डमा अपी होटल नजिक दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा २५ वर्षीय रमेश धामी, ३९ वर्षीय लोकेन्द्र पन्त, र मोहनदेव भट्ट घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुविधा सम्पन्न अस्पताल पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
हिमाली गाउँपालिकामा अर्को जिप दुर्घटना
जिल्लाको हिमाली गाउँपालिका-६ धिम गाउँमा भएको अर्को जिप दुर्घटनामा सात जना घाइते भएका छन्। एभरेष्ट इन्टरनेटको जडानका लागि १३ जना सवार गाडी अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
घाइतेहरूको तत्काल उद्धार गरी कोल्टी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले जिप अनियन्त्रित भएर पल्टिएको प्रारम्भिक अनुमान गरेको छ।
लगातार दुर्घटनाका घटनाले स्थानीय स्तरमा सडक सुरक्षाको सवाललाई थप गम्भीर बनाएको छ। प्रहरीले यात्रु र सवारी साधन चालकमाथि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
-
Jigyasanepal