दार्चुला - दार्चुलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ, जसमा ६ जनाको सनाखत भइसकेको छ। शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जीप आज बिहान करिब चार बजेतिर दुर्घटनामा परेको हो।
प्राप्त जानकारी अनुसार, दुर्घटनामा शैल्यशिखर नगरपालिका–५, लेकगाउँ निवासी ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, र भारत उत्तर प्रदेश विजनौर निवासी ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको छ। एक जना मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा ६ जना यात्रु गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ, र उद्धार कार्य जारी छ। उक्त जीप मालिकार्जुन मन्दिरमा लागेको जात्रा सकेर गोकुलेश्वरतर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको बताइएको छ।
- Jigyasa media