महाभारत गाउँपालिकाबाट १५औं पटक हेलि मार्फत सुत्केरी व्यथाले च्यापिएकी महिलाको उद्धार

  •   १ वर्ष अघि | १३ साउन २०८२, मङ्लबार

 काभ्रे ।, साउन १३

काभ्रेपलाञ्चोकको विकट पहाडी क्षेत्र महाभारत गाउँपालिकाबाट फेरि एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत काठमाडौंमा उद्धार गरिएको छ। दुर्गम भेगका गर्भवती महिलालाई समयमा उपचारको पहुँच पुर्‍याउन राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत निशुल्क हवाई उद्धार गरिएको हो।


साउन १३ गते बिहान, वडा नं. १ गोकुलेकी २० वर्षीया रेनुका लुङ्गेली मगरलाई १८ घण्टासम्मको सुत्केरी व्यथापछि पनि प्रसूति प्रक्रिया अघि नबढेपछि गम्भीर अवस्थामा हेलि एम्बुलेन्समार्फत उद्धार गरी परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौं पुर्‍याइएको हो।

उक्त केसमा प्रोलोङ्ड लेबर र प्रि–लेबर रप्चर अफ मेम्ब्रेन (PROM) अर्थात् बच्चा जन्मनुअघि नै पानि चुहिने अवस्था देखिएकोले जटिलता थपिएको थियो।


यसअघि, यही कार्यक्रम अन्तर्गत महाभारत–७ बनखुकी २८ वर्षीया देवकुमारी पाख्रिनलाई पनि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। थापाथली अस्पतालमा सुरक्षित प्रसूति गराएर पुत्री लाभ भएकोमा अहिले पाख्रिन र उनको परिवार खुशी छन्। उपचारपछि उनीहरूलाई घर फर्किँदा २० हजार रुपैयाँ पोषण खर्च समेत सरकारले उपलब्ध गराउनेछ।

यसरी, राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत महाभारत गाउँपालिकाबाट हालसम्म १५ जना महिलाको निशुल्क हेलिकप्टरमार्फत उद्धार गरिएको छ। स्वास्थ्य संकटमा परेकाहरूलाई राज्यले यथासमय सहयोग पु¥याउने यस प्रकारका उदाहरणहरूले स्थानीयवासीबीच आशाको किरण जगाएको छ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले यस अभियानलाई ‘जीवन बचाउने संवेदनशील सेवा’ भन्दै सहजीकरण गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। “विकट बस्तीमा सामान्य व्यथा पनि ज्यान गुमाउने कारक बन्छ, यस्तो संयोजन र तत्परताले अब गर्भवती आमाहरूको ज्यान जोगिनेछ,” अध्यक्ष जिम्बाले भने।

रेनुका लुङ्गेलीको उद्धारको लागि गोकुले स्वास्थ्य चौकी बर्थिङ सेन्टरका स्वास्थ्यकर्मी पूर्णिमा तुम्सिङको सक्रियतामा च.नं. ४ मार्फत सिफारिस गरी मन्त्रालयसम्म समन्वय गरिएको थियो। सिंहदरबारस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्काल उद्धार प्रक्रिया अगाडि बढाएको हो।

  • Jigyasanepal

थप