असोज ९, २०८२ बिहीबार — काठमाडौं
आज नवरात्रको चौथो दिन, भक्तजनहरूले नौ दुर्गामध्येकी कुष्माण्डा देवीको विशेष पूजा आराधना गर्दैछन्। आश्विन शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वलाई दशैंको धार्मिक र आध्यात्मिक यात्रा अन्तर्गतको महत्वपूर्ण चरण मानिन्छ।
कुष्माण्डा देवीको महत्व
आध्यात्मिक शास्त्रअनुसार, कुष्माण्डा शब्दले आध्यात्मिक (आध्यात्मिक ताप), आधिभौतिक (शारीरिक ताप) र आधिदैविक (दैवी ताप) गरी तीन प्रकारका दुःखहरू हटाउने शक्तिलाई जनाउँछ। यसैकारण भक्तजनले कुष्माण्डा देवीलाई शरणमा लिएर जीवनका तीनै प्रकारका तापबाट मुक्त हुने विश्वास राख्छन्।
पुराणहरूमा कुष्माण्डालाई सुराले भरिएका घडा र रगतयुक्त पात्र धारण गर्ने देवीका रूपमा वर्णन गरिएको छ। उहाँलाई शक्ति, ऐश्वर्य र विद्या प्रदान गर्ने मातृशक्ति मानिन्छ।
नवरात्रको क्रम र देवीपूजा
पहिलो दिन : शैलपुत्री
दोस्रो दिन : ब्रह्मचारिणी
तेस्रो दिन : चन्द्रघण्टा
चौथो दिन : कुष्माण्डा (आज)
पाँचौं दिन : स्कन्दमाता
छैटौं दिन : कात्यायनी
सातौं दिन : कालरात्री
आठौं दिन : महागौरी
नवौं दिन : सिद्धिदात्री
यी सबै रुपहरूलाई नवदुर्गा भनिन्छ।
पूजा–आराधना र धार्मिक आस्था
नवरात्रमा दशैं घर वा पूजा कोठामा विधिपूर्वक पूजा गरेर देवी सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रहरूको पाठ गर्ने परम्परा छ। यसरी गरिएको आराधनाबाट भक्तजनले शक्ति, ऐश्वर्य, विद्या र आन्तरिक शान्ति प्राप्त हुने विश्वास गरिएको छ।
पूजाबाट प्राप्त प्रसादलाई विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म घरघरमा प्रयोग गर्ने परम्परा रहेको छ।
शक्तिपीठमा भक्तजनको भीड
देशभरका शक्तिपीठमा आज भक्तजनहरूको ठूलो भीड लागेको छ।
काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली लगायतका शक्तिपीठहरू दीपावली र विशेष सजावटले झलमलाइ रहेका छन्।
भक्तजनहरू बिहानैदेखि दर्शन, पूजा र आराधनामा सहभागी भई दशैंको माहोललाई अझ भव्य बनाइरहेका छन्।
-
Jigyasanepal