Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

सुदूरपश्चिममा गौरा पर्व सुरु

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

कञ्चनपुर ।  – सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यस पर्वको पहिलो दिन घर-घरमा बिरुडा राखेर मनाइन्छ। आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। यस दिन ब्रतालु महिलाले पाँच प्रकारका अन्न र गेडागुडी (मास, कलौँ, गहत, गहुँ, र गुरुस) मिलाएर ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गर्ने चलन छ।

महिलाहरूले तामाको भाँडोलाई गाईको गोबरले लिपेर, दुबो र अक्षताले सजाएर पञ्च अन्न भिजाउने परम्परा रहेको छ। बिरुडालाई गौरी देवीको प्रसादका रूपमा लिइन्छ र गौरादेवीको पूजा-अर्चनामा बिरुडाको विशेष प्रयोग गरिन्छ।

गौराको विधिवत् सुरुवात पुत्रदा एकादशीको व्रत सकिएपछि बिरुडा पञ्चमीबाट गरिन्छ। गोमती भट्टका अनुसार, "बिरुडा पञ्चमीका दिन महिलाहरूले एक महिना अघिदेखि नै शुद्ध साकाहार र ब्रह्मचर्यको पालना गर्दै बिरुडा भिजाउँछन्। बिरुडा भिजाउँदा महिलाहरू स्थानीय भाषामा रहेको माङ्गलिक सगुन र फाग गाउँछन्।"

फागमा महिलाहरूले गौरा पर्वको व्रत लिने इच्छा व्यक्त गर्दै महादेवलाई (स्थानीय भाषामा मयासर भनिने) नगरमा गएर बिरुडाका लागि आवश्यक सामग्री खोज्न आग्रह गर्ने कथाबाट गीतको सुरुवात हुन्छ। पण्डित कविराज भट्टका अनुसार, "मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको बताएपछि अर्को वर्ष सुरु गर्न सुझाउँछ, तर गौरा देवीको जिद्दिपछि मयासरले नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ।"


गौरा पर्वमा पुरुषजस्तै महिलाले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने परम्परा रहेको छ। भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ। सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा मनाइन्छ। सप्तमीका दिन धानसँग उम्रिएको साउँ (धान जस्तै देखिने घाँस) बाट गौराको प्रतीमा बनाई गौराघरमा भित्र्याइन्छ।

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरालाई गौराघरको आँगनमा राखेर नचाइन्छ। यस अवसरमा विभिन्न अठवाली गीत, चैत, धमारी, र वीरगाथा गाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडा पनि खेलिने प्रचलन छ।

गौरा पर्वमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रूपमा पूजाअर्चना गरिन्छ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। उज्याली गौरालाई विशेष पवित्र मानिन्छ।

गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कञ्चनपुरमा महाकाली साहित्य सङ्गमलगायतका संस्थाहरूले गौराको अवसरमा विभिन्न कार्यक्रमहरू राखेका छन्। रमेश पन्त मीतबन्धुका अनुसार, महेन्द्रनगरस्थित खुला मञ्चमा आजदेखि गौरा महोत्सव आयोजना गरिएको छ। "गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत, देउडा, डुस्को, धुमारीलगायतका गतिविधिहरू गरिन्छ। परम्परालाई जोगाउन र पुस्तान्तरणका लागि महोत्सव आयोजना गरिएको हो," उनले भने।

  • RSS

थप