पश्चिमी वायुको प्रभाव देशभर : तराई र उपत्यकामा हुस्सु–कुहिरो, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना
देशभर पछिल्ला केही दिनदेखि सक्रिय पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान ८ बजे जारी बुलेटिनअनुसार सबै प्रदेशमा आंशिक बदली देखिएको छ, जसले विहान-बेलुकाको दृश्यता प्रभावित बनाएको छ।
विशेषगरी कोसी, मधेस र सुदूरपश्चिमका तराई भूभागका एक–दुई स्थानमा बाक्लो कुहिरो परेको छ। बाँकी तराई क्षेत्र र उपत्यकाका धेरै स्थानमा हुस्सु फैलिएर यातायात र हवाई उडानसमेत प्रभावित हुने स्थिति सिर्जना भएको महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभर आंशिक बदली रहने प्रक्षेपण गरिएको छ।
राति मौसम केही बदलिनेछ। महाशाखाका अनुसार कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा मौसम सफा रहनेछ।
यस्तै, राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
पश्चिमी वायु सक्रियताले तराई–उपत्यकामा हुस्सु र कुहिरो बाक्लिँदै गएकाले
यात्रुहरूले सावधानी अपनाउन,
सम्भव भएसम्म बिहानको यात्रा कम गर्न,
दृश्यता कमजोर हुने क्षेत्रमा धीमी गति अपनाउन
मौसमविद्हरूले आग्रह गरेका छन्।
देशभर एकैसाथ बद्ली र हुस्सु फैलिएको वर्तमान अवस्थालाई ‘हल्का पश्चिमी विक्षोभको प्रभाव’ मानिएको छ।
-
Jigyasanepal