काठमाण्डौ।
भारतको मुम्बईस्थित गेटवे अफ इन्डियाबाट एलिफेन्टा द्वीपतर्फ जाँदै गरेको यात्रु भरिएको डुंगा दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।
दुर्घटना भारतीय नौसेनाको स्पिड बोट अनियन्त्रित भई यात्रु सवार डुंगामा ठोक्किँदा भएको हो। नौसेनाका अधिकारीका अनुसार उक्त स्पिड बोट इन्जिन परीक्षणका क्रममा दुर्घटनामा परेको हो।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविसले घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। मृतकमध्ये तीन जना नौसेनाका जवानसमेत रहेका छन्। उद्धार टोलीले १०१ जनाको जीवन बचाउन सफल भएको छ।
राज्य सरकारले मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।
यो घटना एक महिनाभित्र भारतीय नौसेनाको संलग्नतामा भएको दोस्रो दुर्घटना हो। यसअघि भएको डुंगा दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो।
दुर्घटनाका कारण मुम्बईको जल यातायातमा सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको छ। इन्जिन परीक्षणका क्रममा भएको यस प्रकारको दुर्घटनाले सुरक्षा सतर्कताको आवश्यकता झल्काउँछ।
- Jigyasa media