मुम्बई, कात्तिक १३ – भारतको दक्षिणी राज्य केरला, नीलेश्वरमस्थित एक मन्दिरमा पटाका प्रदर्शनीका क्रममा भीषण विस्फोट हुँदा करिब १५४ जना घाइते भएका छन्, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। सोमबार साँझ विस्फोट भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका छन्।
स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले घटनामा दुई जनालाई हिरासतमा लिइएको जानकारी दिएकी छिन्। उनले भनिन्, "करिब एक सय ५४ जना घाइते भएका छन्, जसमा ९७ जना अस्पतालमा उपचाररत छन्। आठ जनाको अवस्था गम्भीर छ।" विस्फोट पटाका भण्डारण भएको स्थान नजिकै सुरु गरिएको आतसबाजीले झिल्काहरू फैलिँदा भएको बताइएको छ।
स्थानीय अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नलिइएको पुष्टि गरेका छन्। घटनामा भीडमा रहेका व्यक्तिहरूको अनुहार र हातमा जलन भएको छ। मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको छ।
भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरीका कारण धेरै पटक यस्ता घातक दुर्घटनाहरू भएका छन्। सन् २०१६ मा हिन्दू नयाँ वर्षमा प्रतिबन्धित पटाका प्रदर्शनीका कारण केरलाको एक मन्दिरमा भएको विस्फोटमा ११२ जनाको ज्यान गएको थियो।
- RSS