बैंकक - थाइल्याण्डको राजधानी बैंककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। बिहीबार, चाचेओङ्साओ प्रान्तको जंगलमा विमान खसेर दुर्घटनाग्रस्त भएपछि उद्धारकर्ताहरूले शुक्रबार सबै यात्रुहरूका शव फेला पारेका छन्।
विमानमा दुई पाइलटसहित सात यात्रु सवार थिए, जसमा चार थाइ नागरिक र पाँच चिनियाँ नागरिक समावेश थिए। बैंककको सुवर्णभूमि विमानस्थलबाट ट्राट प्रान्ततर्फ उडान भरेको उक्त विमान दुर्घटनामा परी सबै यात्रुहरूको मृत्यु भएको हो।
दुर्घटनास्थलमा उद्धारका लागि ३०० भन्दा बढी सैन्यकर्मी र स्वयंसेवक परिचालन गरिएको छ। खोजी कार्यमा भारी वर्षाले अवरोध पुर्याए पनि खोजीकार्य निरन्तर जारी रहेको चाचेओङ्साओका गभर्नर चोन्लेटी याङट्रोङ्गले बताएका छन्। अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेका छन्।
- RSS