धरान, भदौ ११ - धरान उपमहानगरपालिका-३ माछाभौडिमा बहिनीजुवाइँको छुरा प्रहारबाट १४ वर्षीया बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
खाँदबारी नगरपालिका-२, संखुवासभाका ३३ वर्षीय बबिन बरालले घरायसी झगडाका कारण जेठीसासू सिर्जना राई (शाही)लाई छुरा प्रहार गर्न खोज्दा, उनकी छोरी युजिना शाहीले छुट्याउन खोज्दा आक्रमणमा परिन्। बरालले आमा छोरी दुवैलाई छुरा प्रहार गरी फरार भएका थिए।
घाइते दुवैलाई तत्कालै स्थानीयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका थिए, जहाँ उपचारका क्रममा युजिनाको मृत्यु भयो। उनकी आमा सिर्जनाको उपचार जारी छ।
घटनापछि फरार रहेका बबिन बराललाई वडा प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ। आक्रमणमा प्रयोग गरिएको छुरा पनि बरामद भएको छ। बराललाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।
- Jigyasa media