सर्लाही, असोज १०: सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा आज बिहान भएको गोली प्रहारबाट २३ वर्षीया चित्रलेखा यादवको मृत्यु भएको छ भने उनका ५४ वर्षीय ससुरा रामदिनेश राय घाइते भएका छन्। गोली हान्ने व्यक्तिको पहिचान भए पनि प्रहरीले नाम गोप्य राखेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलमै चित्रलेखाको मृत्यु भएको हो भने रायलाई वायाँ हातमा गोली लागेको छ। रायको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ।
शंकास्पद पृष्ठभूमि:
चित्रलेखाका श्रीमान् एक महिना अघि मात्रै कुवेतबाट घर फर्किएका थिए। उनी घर आएपछि परिवारमा पटकपटक झगडा हुने गरेको र ३/४ दिनपछि घर छाडेर हिँडेका थिए। घटनाको राति उनी एक साथीको साथ मोटरसाइकलमा अचानक घर आएर गोली प्रहार भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजीलाई तीव्र बनाएको छ। डिएसपी श्रेष्ठका अनुसार, गोली हानेर फरार भएको व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ।
घटनाको अनुसन्धान:
हाल प्रहरी यो प्रकरणमा चित्रलेखाका श्रीमान् संलग्न छन् वा तेस्रो व्यक्तिलाई प्रयोग गरिएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ। हरिपूर्वा प्रहरी चौकीले भने श्रीमान्लाई मुख्य अभियुक्तका रूपमा संकेत गरेको छ।
प्रहरीले घटनास्थलमा सानो हतियार प्रयोग भएको र त्यसको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला पारेको छ।
यो घटना हरिपूर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट १४ किलोमिटर टाढा भएको बताइएको छ। घटनापछि प्रहरीको २० जनाको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।
- Jigyasa media