मधेश । मधेस प्रदेशमा सरकार गठनसम्बन्धी चर्किएको विवादले अवस्था थप तनाबपूर्ण बनेसँगै प्रदेश प्रमुखको कार्यालय परिसरमा सेना तथा सशस्त्र सुरक्षा व्यवस्था कडाइ गरिएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभको सुरक्षामा जोखिम बढेको भन्दै शुक्रबार अपराह्नदेखि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले पुष्टि गरेका छन्।
गत सोमबार एमाले मधेस संसदीय दलका नेता सरोज कुमार यादवले पानस कटेज, बर्दिबासमा शपथ लिएपछि राजनीतिक असन्तुष्टि र आरोप–प्रत्यारोप चुलिएको थियो। संविधानको धारा १६८(२) बमोजिम सरकार गठनको आह्वान नै नगरी धारा १६८(३) को आधारमा ठूलो दलको हैसियतले नै यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विपक्षी दलहरू आक्रोशित बनेका छन्।
तत्कालीन प्रदेश प्रमुख साबित्री सुवेदी भण्डारीले मुख्यमन्त्रीसहित ४ मन्त्रीलाई प्रदेश प्रमुख कार्यालय बाहिरै—बर्दिबासस्थित पानस कटेजमा—शपथ गराएको घटनाले राजनीतिक विवाद झनै गहिरिएको हो।
यसबेला प्रदेश प्रमुख कार्यालय वरपर विपक्षी दलका कार्यकर्ताको भीड बढ्न थालेपछि संवेदनशीलता आकस्मिक रूपमा बढेको देखिएको छ। सुरक्षा निकायहरूले सम्भावित दुर्घटना, झडप वा अप्रिय गतिविधि रोक्न विशेष निगरानी सहित सेना र नेपाल प्रहरी दुवै तैनाथ गरिएको जनाएका छन्।
सहायक सीडीओ दाहालका अनुसार, “अवस्था अत्यधिक तनाबपूर्ण भने छैन, तर सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सामान्य सतर्कताका रूपमा सेना–प्रहरी परिचालन गरिएको हो।”
यसैबीच, असुरक्षा बढेको भन्दै मधेस प्रदेशकी उपसभामुखले आफ्नो सरकारी निवास समेत छाडेको जानकारी बाहिरिएको छ, जसले प्रदेशको राजनीतिक वातावरण स्थिर नरहेको स्पष्ट संकेत गरेको छ।
प्रदेशसभामा विपक्षी दलहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै अविलम्ब सरकार गठनको प्रक्रिया पुनःसंशोधन गर्न माग गरिरहेका छन्। उता, मुख्यमन्त्री यादव नेतृत्वको समूह भने “संवैधानिक प्रक्रिया अनुकूल काम भएको” दाबी गर्दै अगाडि बढिरहेको छ।
मधेस प्रदेशमा अहिले राजनीतिक अस्थिरता, कानुनी व्याख्या र शक्ति–प्रयोगको बहस एकैसाथ बढ्दै गएको छ। स्थिति कसरी मोडिन्छ भन्ने प्रश्नमा अब सम्पूर्ण प्रदेशको नजर प्रदेश प्रमुख लाभ र सरकार गठन प्रक्रियाको आगामी कदममा ठोक्किएको छ।
-
Jigyasanepal