काठमाडौं – वरिष्ठ आख्यानकार गणेश रसिक र ध्रुव सापकोटा ‘परशु-कल्पना स्रष्टा सम्मान-२०८१’ बाट सम्मानित भएका छन्। मंगलबार नेपाल स्रष्टा समाजले आयोजना गरेको विशेष समारोहमा उनीहरूलाई संयुक्त रूपमा सम्मान प्रदान गरिएको हो।
साहित्य सृजनामा पाँच दशकभन्दा बढी योगदान पुर्याएका रसिक र सापकोटालाई जनही ५० हजार १०१ रुपैयाँ नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको छ।
योग्य स्रष्टाहरूको सम्मान साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित छनोट समितिले सिफारिस गरेपछि समाजको कार्यसमितिले रसिक र सापकोटालाई सम्मान प्रदान गर्ने निर्णय गरेको थियो।
कार्यक्रममा वरिष्ठ साहित्यिक व्यक्तित्व नगेन्द्रराज शर्मा, रोचक घिमिरे तथा पुरस्कारका संस्थापक सदस्य प्रतिबोध प्रधान, प्रतिमा प्रधान न्यौपाने र प्रतिक्षा प्रधान जोशीले सम्मान हस्तान्तरण गरे।

परशु प्रधानको प्रेरणा परशु प्रधान र उनकी धर्मपत्नी कल्पना प्रधानको स्मृतिमा उनका सन्तानहरूले यो सम्मान स्थापना गरेका हुन्। कार्यक्रमका संरक्षक तथा चयन समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा लागेको बताए। उनले प्रधानले शिक्षण पेशामै रहँदा पनि आफूसहित धेरैलाई साहित्यमा लाग्न प्रेरित गरेको स्मरण गरे।
नेपाल स्रष्टा समाजका अध्यक्ष एवं सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले परशु प्रधान सिर्जनशील मात्र नभई नयाँ प्रतिभालाई अगाडि ल्याउने साहित्यकार रहेको बताए। उनले सम्मान निष्पक्ष रूपमा योग्य स्रष्टालाई प्रदान गरिने बताए।
साहित्यिक पत्रकार रोचक घिमिरेले स्वर्गीय प्रधानसँगको पुरानो चिनजान स्मरण गर्दै ‘रचना’ साहित्यिक पत्रिकामार्फत उनले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरे। वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले योग्य व्यक्तिलाई उचित सम्मान प्रदान गरिएकोमा प्रसन्नता व्यक्त गरे।
सम्मानको निरन्तरता प्राडा. कृष्णप्रसाद दाहालले परशु प्रधानलाई ‘नेपाली साहित्यको बृहस्पति’ को संज्ञा दिँदै सम्मानित आख्यानकारद्वय रसिक र सापकोटाको योगदानको प्रशंसा गरे। स्वर्गीय प्रधानका छोरा तथा वरिष्ठ पत्रकार प्रतिक प्रधानले सम्मानको निरन्तरता सुनिश्चित गरिने तथा सम्भव भएसम्म पुरस्कार राशिमा वृद्धि गरिने घोषणा गरे।

कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को अध्यक्षतामा सम्पन्न भएको थियो। सदस्य प्रदीप सापकोटाले सञ्चालन गरेका उक्त कार्यक्रममा सदस्य शंकर भारतीले स्वागत मन्तव्य दिएका थिए।
- Jigyasa media