काठमाडौं, जेठ ९ । नेपाल स्रष्टा समाजले आफ्नो नियमित प्रकाशन ‘स्रष्टा दर्पण’ को वर्ष १९, पूर्णाङ्क ३२ को अङ्क भव्य रूपमा सार्वजनिक गरेको छ। साहित्य, कला र संस्कृतिमा समर्पित स्रष्टा समाजले अर्धवार्षिक रूपमा प्रकाशन गर्दै आएको यो पत्रिकाले यसपटक अझ गहकिलो सामग्रीसहित साहित्यिक परिवेशमा चर्चा बटुल्न थालेको छ।
पत्रिकाको औपचारिक विमोचन कार्यक्रम बिहीबार सम्पन्न भयो, जहाँ समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’, संरक्षक पवन आलोक लगायत स्रष्टाहरूको उपस्थिति थियो।
नयाँ अङ्कमा समावेश साहित्यिक विधा र स्रष्टाहरूको विविधता उल्लेखनीय छ:
- २४ जना कविका कविता,
- १० जना निबन्धकारका निबन्ध,
- ७ वटा नियात्रा,
- १ कथा,
- ३ लघुकथा,
- १ नाटक,
- २ गीत,
- १ रचनागर्भ,
- १ संस्मरण,
- ३ लेख,
- ३ मुक्तककारका मुक्तकहरू।
साहित्यिक गम्भीरता थप्ने गरी यस अङ्कमा वरिष्ठ संस्कृतिविद् हरिराम जोशीको महत्वपूर्ण अन्तर्वार्ता समेत समावेश गरिएको छ, जसले स्रष्टा र पाठकबीच सोच र सन्देशको पुल निर्माण गरेको छ।
पत्रिकामा नेपाल स्रष्टा समाजका गतिविधिहरूको संक्षिप्त विवरण, समाजले प्रदान गर्दै आएको पुरस्कारहरूको परिचय पनि समेटिएको छ, जसले संस्था र साहित्यिक योगदानका बीचको सम्बन्धलाई थप उजागर गरेको छ।
प्रधान सम्पादकको जिम्मेवारी ओम श्रेष्ठ ‘रोदन’ ले सम्हाल्नुभएको छ भने कार्यकारी सम्पादकका रूपमा डा. शान्तिमाया गिरीले समग्र व्यवस्थापनको भूमिका निर्वाह गर्नुभएको छ।
स्रष्टा दर्पण साहित्यिक उचाइमा नयाँ सन्देश बोकेको दस्तावेज मात्र होइन, समर्पित स्रष्टाहरूको आवाजलाई एकीकृत गर्दै नेपाली साहित्यिक आन्दोलनलाई सशक्त बनाउने माध्यम पनि बन्दै गएको बताइन्छ ।
-
Jigyasanepal