Breaking News
आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||    

किरण खरेललाई परशु-कल्पना स्रष्टा सम्मान समर्पण

  •   ४ महिना अघि | ७ चैत्र २०८२, शनिबार

काठमाडौँ ।प्रसिद्ध आख्यानकार परशु प्रधानको स्मृतिमा स्थापित ‘परशु–कल्पना स्रष्टा सम्मान, २०८२’ वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गरिएको छ ।

शनिबार राजधानीमा नेपाल स्रष्टा समाजद्वारा आयोजित विशेष कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठले गीतकार खरेललाई सम्मानपत्र समर्पण गरे । उनलाई सम्मानसाथ नगद राशि एक लाख १११ रुपैयाँ परिवारका सदस्य लगायतले समर्पण गरे ।

प्रा. डा. श्रेष्ठले गीतकार खरेललाई बधाई दिँदै आख्यानकार प्रधानको कथाकारिताको चर्चा गरे । उनले प्रधानका कथाहरूको पुनर्मूल्यांकन गरिनुपर्नेमा जोड दिंदै भने, “मेरो विचारमा अब नयाँ दृष्टिकोणका साथ उनका कथाहरूको समीक्षा र मूल्यांकन हुनुपर्छ ।”

गीतकार रमण घिमिरेले सम्मानित व्यक्तित्वको बारेमा चर्चा गर्दै, “गीत सिर्जना किरण खरेलको एक मात्र ‘लत’ भएको बताए । उच्च शिक्षा हासिल गरेर पनि अरू पेसामा नगएर उनी गीत सिर्जनामा नै निरन्तर लागिरहेको घिमिरेले उल्लेख गरे । घिमिरेले एक कुशल उद्घोषक समेत रहेका खरेल नेपाली गीत सिर्जनाका महाविद्यालय नै भएको टिप्पणी गरे ।

प्रधानसँग व्यतित गरेका केही शैलेन्द्र साकारलेअविस्मरणीय पलहरु जानकारी दिंदै पुरस्कृत सर्जकलाई बधाई दिए । उनले किरण खरेल र परशु प्रधानको सम्बन्धको चर्चा गर्दै भने, “किरण दाइले नै दाजु (परशु प्रधान)का कथाहरूलाई गीतिकथाका रूपमा रेडियो नेपालमा प्रसारण गर्न सहयोग गर्नुभएको थियो ।”

गीतकार दिनेश अधिकारीले अग्रज गीतकार खरेलको चर्चा गरे । खरेललाई हिउँदको खोलाको संज्ञा दिँदै शान्त रुपमा निरन्तर गीत सिर्जनाकर्ममा खरेल लागिपरेको बताए । आज नेपाली गीतलाई यो उचाइमा पुर्‍याउने श्रेय खरेलकै रहेको उनले बताए ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले आफ्ना पिताजी (परशु प्रधान)को स्मृतिमा आफूहरू चार दिदीभाइ मिलेर यो सम्मानको स्थापना गरेको बताए । उनले भने, “हामीलाई यो अवस्थामा ल्याइपुर्‍याउनुमा पिताजीको साहित्य सिर्जनाको नै योगदान छ । पिताजीको जीवन साहित्य सिर्जनाले नै अगाडि बढेको हो र त्योसँगै हाम्रो जीवन पनि । साहित्यकार भनेको समाजका रत्न हुन् भन्ने हामीले पिताजीबाटै बुझेका हौँ ।”

कार्यक्रममा साहित्यकार पवन आलोकले नेपाल स्रष्टा समाजको स्थापनामा आख्यानकार परशु प्रधानको योगदानको चर्चा गरे । परशु प्रधान आफ्ना गुरु पनि भएको उनले उल्लेख गरे ।उनले कल्पना प्रधानले समेत नेपाली बालसाहित्यमा महत्वपूर्ण योगदान गरेको बताए ।

समाजका अध्यक्ष एवं साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै किताब प्रकाशन गरेरभन्दा पनि पाठकलाई छुने उत्कृष्ट साहित्य लेखेर स्रष्टा लामो समय बाँच्ने चर्चा गरे । उनले भने, “राम्रो लेख्नेहरू पनि बाँचेका छन् त ? त्यो पनि होइन । जसले आफ्नो उत्तराधिकारी बनाउन सक्यो, त्यस्ता स्रष्टा सशरीर नभए पनि युगौँयुग बाँचेका छन् । परशु दाइले धेरै काम गर्नुभएको छ । उहाँ अनुज पुस्तालाई प्रोत्साहित गर्नुहुन्थ्यो । यो समाज पनि परशु दाइकै परिकल्पनामा स्थापना भएको हो ।”

उनले ७०० भन्दा बढी कालजयी आधुनिक गीत स्रोतालाई सुम्पिएका गीतकार खरेल नेपाली संगीतका उज्ज्वल नक्षत्र भएको बताए ।

कार्यक्रममा समाजका सदस्य डा.शान्तिमाया गिरीले धन्यवाद व्यक्त गरिन् । कार्यक्रमको सहजीकरण समाजका सदस्य प्रदीप सापकोटाले गरे । 

  • Jigyasanepal

थप