काठमाडौं । लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि देशका विभिन्न प्रमुख राजमार्ग प्रभावित बनेका छन्। विशेषगरी बीपी राजमार्ग पुनः बन्द भएपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
प्रहरी प्रधान कार्यालयले बिहीबार बिहान सूचना जारी गर्दै काभ्रे–सिन्धुली सडक खण्डअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिम बढेकाले सवारी आवागमन रोकिएको जनाएको छ।
वर्षासँगै खोलानाला उर्लिने र सडक कटान हुन सक्ने जोखिम बढेपछि बिहानैदेखि सम्पूर्ण सवारी साधन सञ्चालन बन्द गरिएको हो। सडक बन्द भएपछि लामो तथा छोटो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने मालवाहक गाडीको आवागमनसमेत प्रभावित बनेको छ।
बीपी राजमार्ग वर्षायाममा पटक–पटक अवरुद्ध हुँदै आएको संवेदनशील सडकका रूपमा चिनिन्छ। प्रहरीले वैशाख २१ गतेदेखि नै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा गाडी सञ्चालनमा रोक लगाएको थियो। अहिले भने बाढीको जोखिम बढेपछि दिनमै पनि सवारी सञ्चालन बन्द गरिएको हो।
प्रहरीले अर्को सूचना नभएसम्म उक्त सडक प्रयोग नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
यता, पहिरोका कारण खोटाङमा मध्यपहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। लगातारको वर्षासँगै सडक माथिबाट ढुंगा र माटो झर्ने क्रम बढेपछि यातायात सेवा ठप्प बनेको प्रहरीले जनाएको छ।
हुम्लामा पनि सडक विस्तारको काम भइरहेका बेला जोखिम बढेपछि हिल्सा–सिमकोट सडक खण्ड बन्द गरिएको छ। नाम्खा गाउँपालिका–२ को च्यादुक क्षेत्रमा सडक खन्ने क्रममा माथिबाट ढुंगा र माटो खस्ने खतरा बढेपछि वैशाख २९ गतेदेखि जेठ २ गतेसम्म आवागमन रोकिएको हो।
त्यसैगरी भोजपुरमा बाढीको जोखिमका कारण मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालन प्रभावित भएको छ भने संखुवासभामा पहिरोको जोखिम बढेपछि कोसी राजमार्गमा एकतर्फी मात्रै गाडी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
मौसम खराब बन्दै गएपछि प्रहरी र प्रशासनले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न, अनावश्यक यात्रा नगर्न तथा सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्। लगातारको वर्षासँगै देशभरका पहाडी सडकमा जोखिम बढेकाले यात्रुहरू थप सतर्क हुनुपर्ने अवस्था सिर्जना भएको छ।
-
Jigyasanepal