काठमाडौं | असार १२, २०८२
साहित्यिक सृजनामा निरन्तर सक्रिय कवि जुमन किरणको बहुप्रतीक्षित कविता सङ्ग्रह ‘यादहरूको बहिर्गमन’ सार्वजनिक गरिएको छ। सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो।
सशक्त स्रष्टाहरूको उपस्थितिमा लोकार्पण
कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार, कलानिधी दाहाल, कृष्ण प्रधान, श्रीओम श्रेष्ठ 'रोदन', छविरमण सिलवाल, प्रोल्लास सिन्धुलीय लगायत साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथि शैलेन्द्र साकारले कृति लोकार्पण गर्दै कवि जुमन किरणलाई प्रयोगशील कविको रुपमा चित्रण गर्दै भने, "कविताका क्रियशनहरूले मलाई ताने। यसमा सौम्य व्यङ्ग्यचेतको प्रभाव स्पष्ट छ।"
परिचर्चामा उठेका विचारहरू
वरिष्ठ कवि कृष्ण प्रधानले ‘यादहरूको बहिर्गमन’ शीर्षकलाई मन पर्ने भन्दै कवि जुमनलाई समयसँग संवाद गर्न खप्पिस कविको रुपमा चित्रण गरे। उनले भने, “यी लघु कविताहरू मौन तर गहिरो विद्रोह बोकेका छन्। केही कवितामा दार्शनिक गहिराइ समेत छ।”
वरिष्ठ साहित्यकार कलानिधी दाहालले जुमन किरणका कवितामा चेतनाको तीव्रता, बिम्ब प्रयोगको नवीनता र समर्पणको गहिराइ रहेको उल्लेख गर्दै भने, “साहित्यमा निरन्तरता, संकल्प र समर्पण चाहिन्छ, जुमनमा यी सबै गुण छन्।”
**श्रीओम श्रेष्ठ ‘रोदन’**ले कृति प्रकाशनलाई सर्जकको उत्सव भन्दै कृतिकार जुमनलाई जन्मदिनको अवसरमा कृति प्रकाशन गरेकामा बधाई दिएका थिए।
कृतिबाट कविता वाचन
कार्यक्रममा ‘यादहरूको बहिर्गमन’ कृतिबाट रुविना राना, विनोद खत्री ‘आकाश’ र बसुन्धरा चौहानले चयनित कविता वाचन गरेर श्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।
कृतिकारको आभार
कवियत्री जुमन किरणले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै, कृतिलाई पढेर रचनात्मक सुझाव दिन सबैलाई आग्रह गरिन्। उनले यो सङ्ग्रह मनका गहिराइमा थन्किएका अनुभूतिहरूको बहिर्गमन भएको उल्लेख गरिन्।
आयोजनाका विशेष पक्षहरू
कार्यक्रमको अध्यक्षता सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले गरेका थिए भने प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य **पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङ्कृत’**ले राखेका थिए भने सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरेका थिए।
कार्यक्रमको मिडिया पार्टनरको रूपमा इखबर डटनेट रहेको थियो।
📘 कृतिबारे जानकारी
कृति: यादहरूको बहिर्गमन
सर्जक: कवि जुमन किरण
प्रकाशक: सुनकोसी वाङ्मय प्रतिष्ठान
मूल्य: रू. ३००।–
प्रकार: लघु र प्रयोगधर्मी कविता संग्रह
-
Jigyasanepal