काभ्रे । मण्डनदेउपुर नगरपालिका वडा नं १० माझी गाउँकी ५० वर्षकी कालिका माझीको जीवन अहिले एउटा कठिन संघर्षमा छ। पाठेघरको क्यान्सरसँग जुधिरहेकी कालिकालाई बाँच्ने ठूलो रहर छ, तर आर्थिक अभावले उनी र उनको परिवारलाई निखार्दै लगेको छ।
कालिका पहिलो पटक पित्तथैलीको पत्थरीको उपचार गर्न अस्पताल गएकी थिइन्। तर, समस्या समाधान नभएपछि जोरपाटीको मेडिकल कलेजमा पाठेघरको क्यान्सर भएको पत्ता लाग्यो। त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचार सुरु गरियो। पाँच लाखभन्दा धेरै रकम खर्च भइसकेको छ, जसमा परिवारको सबै बचत र आफन्त र ईष्टमित्रबाट मागेको पैसा पनि समावेश थियो ।
कालिकाको पत्थरीको समस्या पछि क्षयरोगको लक्षण देखा पर्यो, र अन्ततः क्यान्सरको निदान भयो। परिवारको आर्थिक स्थिति कमजोर हुँदा उपचार गराउन ठूलो समस्या परेको छ। हरेक पटक अस्पताल लैजाँदा पैसा खोज्नुपर्ने र स्रोत सकिँदा उपचार कसरी गराउने भन्ने चिन्ताले उनीहरूको जीवनलाई दुःखित बनाएको छ।
कालिकाको परिवारका लागि भगवान् नै एक मात्र आशा बनेका छन्। उनीहरूलाई सामाजिक सञ्जालमार्फत देश विदेशमा खर्च जुटाउने ज्ञान छैन। टेलिफोन उठाउने र हेलो भन्नु बाहेक अन्य कुरा नजान्ने परिवारले धेरैले सहयोग जुटाएर उपचार गरेको सुन्दा आफ्नो लागि पनि सहयोग पाउने आशा जीवित राखेका छन्।
चक्रबहादुर माझी, कालिकाका पती, खेती किसानी गर्ने र ईमान्दार बनेर काम गर्ने सिमान्तकृत माझी समुदायका हुन्। उनी श्रीमती बाँच्ने आशामा सहयोगी दाताको खोजीमा छन्। एक किमोको ३६ हजार रुपियाँ खर्च हुने र नियमित औषधि सेवन गर्नुपर्ने भएकाले उनी दाताहरूको सहयोगबाट श्रीमतीलाई बचाउन सकिने आशामा छन्।
"नियमित औषधि सेवन र उपचारले निको हुने चिकित्सकले बताएकाले आशा पलाएको छ," चक्रबहादुरले भने।
कालिका र उनको परिवारले सरकार, सहयोगी, देश विदेश बस्ने मनकारीसँग सहयोगको याचना गरेका छन्। कसैले सहयोग गर्न चाहन्छ भने कालिकाको खातामा सिधै सहयोग रकम जम्मा गरिदिन सकिन्छ।
सहयोग गर्नका लागि:
ग्लोबल आईएमई बैंक लिमिटेड, भक्तपुर शाखा
खाता नम्बर: 35107010013934
सम्पर्क: 9818288668
यो संघर्षपूर्ण अवस्थामा कालिकालाई सहयोग गरेर उनको जीवनलाई फेरि उज्यालो बनाउन हामी सबैले हातेमालो गर्न सक्छौं।
-
Mr. Admin