भक्तपुर, साउन ९ । नेपाल संवत्को नवौं महिनाको सुरुवातसँगै बौद्ध धर्मावलम्बीहरूको आस्था, परम्परा र सांस्कृतिक पहिचान बोकेको गुँला पर्व आजबाट सुरु भएको छ। एक महिनासम्म धुमधामका साथ मनाइने यो पर्व विशेषगरी बौद्धमार्गीहरूले मनाउने गरे पनि हाल वर्षेनी यसमा अन्य धर्मावलम्बीहरूको समेत व्यापक सहभागिता देखिन्छ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुने भएकाले यो पर्व नेपाल संवत्को नवौं महिनामा मनाइने परम्परा छ। आजदेखि सुरु भएको गुँला पर्व आगामी भदौ ८ गतेसम्म निरन्तर चल्नेछ।
संस्कृति र धर्मको संगम । बाजा, परिक्रमा र पुरातन मठमन्दिर
गुँला पर्वको मूल विशेषता महाचैत्य र विभिन्न मठ–मन्दिरहरूको परिक्रमा हो। भक्तपुर, पाटन, काठमाडौँका विभिन्न बहाः, बही, चैत्य, विहार र गुम्बाहरूमा बौद्ध अनुयायीहरूले बिहान सबेरै देखि दैनिक पूजापाठ, ध्यान र परिक्रमा गर्ने चलन रहिआएको छ।
यस पर्वमा राँगाको सिङबाट बनाइएको 'न्याकुँ बाजा', साथै धिमे, धाः, भुस्या, बाँसुरी लगायतका मौलिक बाजाहरूको संगतिमा परम्परागत संगीत गुञ्जिन्छ। यसले उपत्यका नै सांस्कृतिक लयमा झुम्ने वातावरण बनाउँछ।
इष्टदेवताका दर्शन र सांस्कृतिक एकता
गुँला पर्वको क्रममा चैत्यहरू मात्र होइन, स्थानीय इष्टदेवता—गणेश, भीमसेन, भैरव, अष्टमात्रिका देवीहरू समेतको परिक्रमा गरिन्छ। धार्मिक यात्रासँगै सामाजिक मेलमिलाप र सांस्कृतिक जागरणमा समेत यो पर्वले योगदान पुर्याउने भक्तजन बताउँछन्।
वर्तमान सन्दर्भमा गुँला पर्वको महत्व
विगत केही वर्षयता गुँला पर्वमा पुस्तान्तरणको प्रयास, संस्कृति संरक्षण र धार्मिक पर्यटनको सम्भावनासमेत जोडिँदै गएको छ। यस पर्वले विशेषगरी युवापुस्तालाई मौलिक बौद्ध संस्कृति, जात्राहरूको ऐतिहासिक मूल्य र सामूहिक सहभागिताको महत्त्व सिकाउने अवसर पनि दिएको छ।
-
Jigyasanepal