काठमाण्डौ ।
दसैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा लामो बिदामा पदयात्रा गर्ने योजना बनाउने धेरैको लागि यो समय उत्कृष्ट मानिन्छ। विशेषगरी गण्डकी प्रदेशका अन्नपूर्ण र मनास्लुजस्ता चर्चित पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढेको छ। नेपालका प्राकृतिक सौन्दर्य, हिमाली जनजीवन, सभ्यता, र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पदयात्रा उत्तम अवसर हो। तर, पदयात्रा सुरक्षित र सफल बनाउन, आवश्यक तयारी महत्वपूर्ण छ।
१. गन्तव्यको चयन र खर्चको योजना
गन्तव्य अनुसार खर्चको निर्धारण हुन्छ। सामान्यतया पदयात्रामा प्रति दिन ३ देखि ४ हजार रुपैयाँ खर्च लाग्न सक्छ। सगरमाथाजस्ता क्षेत्रमा भने यो खर्च अझै बढी हुन सक्छ। नगदको व्यवस्था गर्नु उपयुक्त हुन्छ किनकि कतिपय विकट क्षेत्रमा अनलाइन भुक्तानी सुविधा उपलब्ध नहुन सक्छ।
२. पूर्वअध्ययन र योजना
गन्तव्यको भौगोलिक अवस्था, त्यहाँको मौसम, होटल, रेस्टुरेन्ट, र चियाघरहरूको बारेमा अध्ययन गर्नुहोस्। गुगल नक्सा वा अन्य सन्दर्भ सामग्रीबाट गन्तव्यको जानकारी लिनु राम्रो हुन्छ। यसले यात्रा सहज बनाउँछ र मानसिक र शारीरिक तयारीमा सहयोग पुर्याउँछ।
३. आवश्यक सामान र सामग्री
पदयात्रामा लुगादेखि झोलासम्मको तयारीमा ध्यान दिनु जरुरी छ। जुत्ता, लठ्ठी, ट्रेकिङ झोला, र अन्य सामग्रीहरू समयमै तयारी गर्नुहोस्। हलुका र टिकाउ ट्रेकिङ सामग्रीहरू किनेर यात्रा सजिलो बनाउन सकिन्छ। जाडो यामको लागि न्यानो कपडाको व्यवस्था गर्नुपर्छ भने, आँखाको सुरक्षाका लागि चश्मा आवश्यक हुन्छ।
४. स्वास्थ्य र सुरक्षा
पदयात्राका लागि औषधि र प्राथमिक उपचार सामग्री बोक्न नबिर्सिनुहोस्। उचाइमा जाँदा लेक लाग्नसक्ने सम्भावना हुन्छ, त्यसैले विस्तारै हिँड्नुहोस् र उचित विश्राम लिनुहोस्। आपतकालीन अवस्थामा प्रहरी, पर्यटक सूचना केन्द्र, वा स्थानीय बासिन्दाको सम्पर्क नम्बर राख्नुहोस्।
५. समूहमा यात्रा गर्नु
सुरक्षाको दृष्टिले एक्लै यात्रा नगर्नु राम्रो हुन्छ। समूहमा पदयात्रा गर्दा धेरै सहज र सुरक्षित हुन्छ। पथप्रदर्शकसँग यात्रा गर्दा अझै सुरक्षित र अनुभवजन्य हुन्छ।
सही तयारी र योजना बनाएर पदयात्रा गर्दा दशैंको बिदा थप रोमाञ्चक र सुरक्षित हुने छ।
- Jigyasa media