जिज्ञासा नेपाल | जेठ ५, काठमाडौं
नेपालको सेयर बजारमा सोमबार उल्लेखनीय सुधार देखिएको छ। साताको दोस्रो दिन सेयर बजार परिसूचक (NEPSE) १९.३० अंकले उकालो लाग्दै २६२८.३६ विन्दुमा पुगेको छ।
गत आइतबार थोरै झरेको बजार सोमबार पुनः सकारात्मक ट्रेन्डमा फर्किएको हो। यद्यपि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा थोरै घटेर ७ अर्ब ३५ करोड रुपैयाँमा सीमित भयो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार १ करोड ६२ लाख कित्ता सेयर किनबेच भए। कुल १८५ कम्पनीका सेयर मूल्यमा वृद्धि हुँदा ६० कम्पनीका सेयर घटे भने दुई कम्पनी स्थिर रहे।
सप्तकोशी बैंकमा सकारात्मक सर्किट, लगानीकर्तालाई उत्साह
आजको कारोबारमा सप्तकोशी डेभलपमेन्ट बैंकले सर्वाधिक लाभ दिँदै १० प्रतिशतको सर्किट हिट गरेको छ। लगानीकर्ताले प्रतिकित्ता ७१ रुपैयाँ ५२ पैसा नाफा कमाएका छन्।
त्यस्तै, सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सका सेयर पनि क्रमशः ९.९९ प्रतिशतको दरले उकालो लागेका छन्। तेह्रथुम पावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि क्रमशः ९.९८ र ९.७९ प्रतिशतले बढेको छ।
विन नेपाल लघुवित्तमा गिरावट, लगानीकर्तालाई भारी घाटा
विपरित दिशामा गएको सेयरमध्ये विन नेपाल लघुवित्त सबैभन्दा धेरै घट्यो। यसमा नकारात्मक सर्किट लागेपछि लगानीकर्ताले प्रतिकित्ता २७१ रुपैयाँ ५६ पैसा गुमाएका छन्।
राधी जलविद्युत् शीर्ष कारोबारमा
कारोबार रकमका हिसाबले राधी जलविद्युत् कम्पनी सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको ५९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ५१ करोड र हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
सेयर बजारमा देखिएको दोहोरो अंकको सुधारले लगानीकर्तामा पुनः विश्वास बढाएको छ। केही कम्पनीले उल्लेखनीय लाभ दिएका छन् भने केहीले ठुलो घाटा पनि ब्यहोरेका छन्। त्यसैले बजार विश्लेषकहरू सावधानीपूर्वक लगानी गर्न सल्लाह दिइरहेका छन्।
(जिज्ञासा नेपाल – आर्थिक डेस्क)
-
Jigyasanepal