काठमाडौं, जेठ २५ – नेपाली बजारमा सुनको भाउ शुक्रबारको तुलनामा आज एकैपटक तोलामा ३ हजार रुपैयाँले घटेको छ। चाँदीको मूल्य पनि सामान्य गिरावटसहित तोलामा ५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। शुक्रबार यो मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ थियो। यसरी मुल्यमा आएको तीव्र घटबढले सुन किनबेच गर्ने ग्राहक र व्यापारी दुवैलाई चकित बनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर तोलामा २ हजार १४५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदीको मोल २ हजार १५० रुपैयाँ थियो।
भाउ घट्नुको कारण भने अन्तर्राष्ट्रिय बजारमै सुनको दरमा आएको गिरावट हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज १ औँस सुनको मूल्य ३ हजार ३११ अमेरिकी डलर मा कारोबार भइरहेको छ, जुन अघिल्लो स्तरभन्दा केही कम हो।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुती, व्याजदरको सम्भावित परिवर्तन, तथा बजारमा देखिएको तरलता संकटले सुनको भाउमा प्रत्यक्ष असर पारेको हो।
सुनचाँदी बजारमा यस्तो तीव्र उतारचढाव भइरहँदा निवेशकर्ताहरूले सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ।
-
Jigyasanepal