साउन २६, सोमबार । यो साताको पहिलो कारोबार दिन सुरुवातमै बैंकिङ क्षेत्रको उछालले लगानीकर्तामा आशा जगाएको नेप्से अन्त्यतिर पूरै राताम्मे भएर बन्द भएको छ।
कारोबार खुलेको केही मिनेटमै वाणिज्य बैंकको सूचकले बजारलाई २३ अंकले माथि तानेको थियो। तर, मध्याह्नपछि बैंकिङको जोश सुस्ताउँदै गयो र अन्ततः म्युचुअल फन्डबाहेकका सबै समूह राताम्मे भए।
अन्तिम कारोबारसम्म आइपुग्दा नेप्से सूचक २७.९० अंकले घटेर २८२२.४६ अंकमा अडियो। सोमबार कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।
बजारमा कारोबार भएका २५० मध्ये केवल ३० कम्पनीको मूल्य बढ्दा २२० कम्पनी राताम्मे भए। मूल्य बढ्नेमा रिभरफल्स पावर अगाडि रह्यो, जसको मूल्यमा सकारात्मक सर्किट लाग्यो।
त्यसैगरी, मूल्य घट्नेमा उन्नति सहकार्य लघुवित्त र लिबर्टी इनर्जी अग्रस्थानमा रहे, दुवैको मूल्य ७ प्रतिशतले घट्यो।
कारोबार रकमको हिसाबले शिवम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो, जसको सोमबार मात्र ५३ करोड रुपैयाँको किनबेच भयो।
लगानीकर्ताको पहिलो दिनको ‘बुलिश’ अपेक्षा अन्ततः ‘बेयरिश’ वास्तविकतामा परिणत भएको देखिएको छ।
-
Jigyasanepal