काठमाडौँ, साउन १६ — नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य पुनः घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु. १,९३,१०० मा कारोबार भइरहेको छ। हिजोको तुलनामा सुनको मूल्य रु. ५०० ले घटेको हो।
गएको वैशाख ९ गते सुनको मूल्य प्रतितोला रु. १,९७,९०० पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्यमा क्रमिक गिरावट देखिएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला रु. ३५ ले घटेर रु. २,२३५ मा कायम भएको महासंघले जनाएको छ।
लगातार घटिरहेको बहुमूल्य धातुको मूल्यले बजारमा सुनचाँदी खरिद गर्ने उपभोक्ताहरूका लागि केही राहतको संकेत दिएको छ भने लगानीकर्तालाई भने सतर्क बनाएको छ।
-
Jigyasanepal