Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

तपाईंको सन्तान जन्मिँदा, राज्यको नब्बे हजार ऋणसहित जन्मिँदैछ — के तपाईं अझै मौन बस्ने ?

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

विचार विशेष :

✍🏼महेन्द्र पौडेल 

नेपाली जनताको एक बानी छ — विर्सनु। त्यो पनि यति गहिरो कि यो बानीलाई गोर्खे स्वभाव नै भनिन्छ। एक क्षणमै तात्ने, अर्को क्षणमै सेलाउने। नालापानीको लडाइँमा भक्ति थापा जोशमा खुकुरी लिएर दौडे, तर त्यही इतिहास हामीले आज स्मरण गर्ने फुर्सद राख्दैनौं। निर्मला पन्तको बलात्कार र हत्या, मदन भण्डारीको रहस्यमय दुर्घटना, प्रेम आचार्यको आत्मदाह, त्रिपुरेश्वर र तिनकुनेका आन्दोलन... हामी केही दिन रोइलौं, पोस्ट लेख्यौं, अनि बिर्स्यौं।

विर्संदै जाने यो प्रवृत्तिले नै आज हामीलाई यस्तो ठाउँमा ल्याइपुर्‍याएको छ, जहाँ हामी आफ्ना छोराछोरीलाई जन्माउँदै नब्बे हजार ऋण बोकाएर जन्माइरहेका छौं।

बिर्सिएका १० यथार्थहरू, जसले देशलाई अधोगतितर्फ धकेल्यो:

१. प्रजातन्त्रको भ्रम: २०४६ मा प्रजातन्त्र आयो, सोचेका थियौं परिवर्तन आयो, कुल्लीले थपडी मारेका दृश्य आज पनि मानसपटलमा छन्। तर नेताहरू चप्पलबाट पजेरो चढ्न थाले, सांसदहरू मारवाडीलाई सस्तोमा पजेरो बेच्न थाले, अनि विश्वासको काँग्रेस मध्यावधि हान्दै देशलाई भड्खालोमा हालिदियो।

२. घोटालाको राजतन्त्र: सुरासुन्दरी, लाउडा, मल, विमान, चेज काण्ड हुँदै खर्बौं लुटियो। हामी दर्शक बन्यौं, र फेरि बिर्स्यौं।

३. निजीकरणको नाममा विध्वंस: साझा यातायात, ट्रॉलीबस, हेटौंडा सिमेण्ट... कौडीको मुल्यमा बेचीयो। रोजगार काटियो, बेरोजगारी विदेश पठाइयो — मेनपावर माफियाले कमाइ सुरु गरे।

४. अराजकता र भ्रष्टाचारको संस्थागतरण: जंगलका बन्दुक बोकेकाहरू सत्तामा आए, अनि देशका संरचनामाथि आक्रमण गरे। लोकतन्त्रको खोल ओढेका माफियाहरूले राज्य दोहन गरे।

५. १७ हजारको बलिदान कहाँ गयो? गणतन्त्र आयो, तर सुन र रक्तचन्दन तस्करी गर्नेहरू नेतृत्वमा पुगे।

६. नीतिमा नै ढोंग: समान शिक्षा भन्नेहरूको सन्तान विदेश, नेताहरूका छोरीबुहारी समानुपातिक सांसद, गल्ती गर्नेहरू प्रम। न्यायालय र आयोगहरू नेताहरूका कचौरा बने।

७. सर्वसाधारणको विस्थापन: सत्ता र सुविधाको दलदलमा १८ जना आफन्तलाई पद दिनेहरू ‘जननेता’ कहलिए। हामी बर्बाद भयौं, उनीहरू अरबपति।

८. देश यमन बन्ने कि ओमन? एउटै प्रकृति, स्रोत, भाषा, धर्म, छिमेकी — तर ओमनमा राष्ट्रप्रेमी नेतृत्व, यमनमा सत्ता लोलुप। हामी कुन बाटो लिँदैछौं?

९. काण्डमा काण्ड, हामी चुप: ३३ किलो सुन हरायो, बालुवाटारको जग्गा लुटियो, एनसेलका खर्बौं बिदेश पलायन, बुढीगण्डकीमा १० अर्ब भ्रष्टाचार — हामी चुप, हामी बिर्सियौं।

१०. जन्मिँदै ऋणको भारी: २०४६ मा हाम्रो टाउकोमा ऋण थिएन। आज एकजना सन्तान पेटमा आउँदै गर्दा राज्यको नब्बे हजार ऋण उसको भागमा लेखिन्छ।

अब भने जाग्ने बेला हो।

नयाँ वर्ष २०८२ ले हामी सबैलाई स्मरणशक्ति प्रदान गरून् — स्मरण गरौं ती अन्याय, ती बेइमानीहरू, ती विसंगतिहरू। जागौं, बोलौं, लेखौं, प्रश्न गरौं। परिवर्तनको सुरुवात चेतनाबाट हुन्छ, प्रतिकारको थालनी सम्झनाबाट।

देश बदल्न चाहनुहुन्छ भने, पहिले आफू बिर्सन छाड्नुस्।

नववर्ष२०८२ को शुभकामना । जय नेपाल।

  • Jigyasa media

थप