Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

विशेष सम्पादकीय: जिज्ञासा नेपालको पहिलो वर्ष

विभिन्न सेवाको नाममा धन्दा चलाउने माथि हाम्रो नजरको फन्दा सम्म..!

  •   १२ महिना अघि | १४ साउन २०८२, बुधबार

२०८१ साउनदेखि नेपालको संविधान अनुसारका सबै कानुनी मान्यता सहित विधिवत् सुरु भएको जिज्ञासा नेपाल डटकमले स्थापनाको आज १ वर्ष पूरा गरेको छ। काभ्रे जिल्लाको भूमिमा उम्रिएको यो जनताको जिज्ञासा खोजी गर्ने निडर माध्यम, अहिले देशैभरिका साना तथा ठूला सञ्चार माध्यमका लागि उदाहरणीय बन्ने संकल्प बोकेर हिँडेको छ । यस बीच हामीले हाम्रो कामको समीक्षा सँगै आत्मालोचना गर्न चाहन्छौं हामी थप सुदृढ परिष्कृत हुँदै अगाडिको पङ्क्ति लाई सशक्त जिम्मेवार बनाउन चाहन्छौं । यो हाम्रो सञ्चारको जिम्मेवारी र देशप्रेमको संकल्प गर्ने महत्वपूर्ण घडी हो।

हामीले सुरुवातमै स्पष्ट लेखेका थियौँ – "जबाफदेही सञ्चार, हाम्रो प्रतिवद्धता"। आज फर्केर हेर्दा, त्यो वाक्य मात्र नारा थिएन, त्यो हाम्रो मार्गदर्शन बन्यो। विगत ३६५ दिनमा हामीले काभ्रे जिल्लाको दुर्गम गाउँदेखि सदरमुकामका गल्लीहरूसम्म, भ्रष्टाचारदेखि विकासका योजना, नीतिगत बेइमानीदेखि जनताको सुख दुःखका पहाड भत्काउने सम्मका खबर बनाएका छौँ।

यस १ वर्षमा हामीले दशौं हजार भन्दा बढी सामाग्री प्रकाशन गर्‍यौँ, जसमा काभ्रेको मात्र नभइ देशका ७७ जिल्लाको समाचार समेट्यौँ। हाम्रो खोजमूलक समाचारले सरकारी निकायदेखि नेतासम्म सजग हुन बाध्य भई नागरिकका काम गर्न कोसिस गरे, कतिपय गुप्त तथ्य सार्वजनिक गर्‍यो, अनि नागरिकहरूलाई चेतनाको उज्यालोमा ल्यायो भन्ने विश्वास व्यक्त गर्दछौँ ।

तर, हामी पूर्ण छैनौँ। कहिलेकाहीँ समाचार प्रकाशनमा ढिलाइ भयो, कतिपय ठाउँमा स्रोतको अपुष्ट आधारमा सामग्री आए। यस्तो कमजोरीलाई हामी चुपचाप पचाउन सक्दैनौँ। समाचारको गुणस्तर, सम्पादनको सशक्तता, तथ्य पुष्टि र पाठकको प्रतिक्रियाको सन्तुलन मिलाउन अझ धेरै मेहनत आवश्यक छ भन्ने अनुभूति भएका छन्। यही अनुभूतिले हामीलाई अझ शुद्ध, जिम्मेवार र सत्य खोजीमा दृढ बनाएको छ।

नयाँ पुस्ताका लागि हामीले एउटा धारिलो बाटो खोल्यौँ– सञ्चार माध्यम सिर्फ सूचना प्रसार गर्ने, विज्ञापन व्यापार गर्ने र राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने साधन भइरहेको बखतमा हामीले यो कुरालाई ठाडै इन्कार गरेर हाम्रो मार्ग र उद्देश्य स्पष्ट गरेका छौँ । मीडिया, मात्र शक्तिको भजन गाउने केही सीमित परिधिमा रम्ने होइन, बोल्न नसक्नेहरूको आवाज हुनुपर्छ भनेर दिउँसै उज्यालोमा देश लुट्ने, ठेक्का र कमिसनको नाममा नीति बनाउने, जनतालाई आँखा छोप्ने भ्रम दिनेहरूप्रति खनिएको कलम चलायौँ। 

काभ्रेका सडक विहीन गाउँमा ४र५ घण्टा सुत्केरी बोकेर हिँड्नुपर्ने बाध्यता, योजनाको कागजमै सिध्याइएको भ्रष्टाचार, अनुदानको नाममा भएको फर्जी वितरण– यस्ता तथ्य हामीले उजागर गरेका छौँ। हामीले नीतिगत लुटको पर्दाफास मात्रै गरेनौँ, यसको मूल जरो के हो ? भन्ने बहस समेत खडा गर्यौँ।

हामी मात्र खबरका सञ्चारकर्मी होइनौँ। हामी समाज रुपान्तरणको लागि कलम चलाउने शक्तिहिन, आवाज विहिनका सहयोगी अनि माध्यम पनि हौँ। स्थानीय बजेटको उपयोग, स्वास्थ्य र शिक्षामा अनियमितता, श्रमिकको अधिकारदेखि बाल अधिकार, महिलाका मुद्धासम्मको कुरा हामीले उठाएका छौँ।

सामाजिक अभियानहरू, वातावरणको संकट, खोला, नदी, चुरे दोहन, बालबालिका माथिको हिंसा, बजारमा भएका ठगी प्रवृत्ति– सबै हाम्रो रडारमा राख्यौँ। हामीले जाँच्यौँ, लेख्यौँ, र पाठकमाझ विश्वास निर्माण गर्न सकेका छौँ।

विज्ञापनदाता, लेखक, शुभेच्छुकप्रति आभार

हामी १ वर्षमा यहाँसम्म आइपुग्न सक्यौँ भने त्यो हिँडाइँ हाम्रो मिहिनेत मात्र होइन। हामीप्रति माया, भरोसा र साथ देखाउनुहुने सम्पूर्ण लेखक, संवाददाता, प्रवाहक, पाठक, विज्ञापनदाता र शुभचिन्तकलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ।

हामीलाई लेख्न, रिस्क लिन, खुला प्रश्न गर्न हिम्मत दिने तपाईंहरू नै हौँ। हामी तपाईंहरूमै आश्रित छौँ र तपाईंहरूको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। हामी अब दोस्रो वर्षको यात्रामा प्रवेश गर्दैछौँ। यो चरणमा हामी अझ मजबुत, अझ जिम्मेवार र अझ खोजमुखी सञ्चार गर्ने संकल्प गर्दैछौँ। हामी सूचना, विचार र विश्लेषणको संयोजन गर्दै, अझ विविध विधामा सामग्री विस्तार गर्दैछौँ। निकट भविष्यमा जिज्ञासा अनलाइनको नाम होइन, यो एउटा आन्दोलन हो– चेतनाको, उत्तरदायित्वको, र जवाफदेहिता खोज्ने र नागरिक आवाजको प्रतिनिधित्व हो भन्ने बनाउन तल्लीन हुने छौँ । विगत एक वर्षको गतिविधिहरूको सम्पूर्ण मूल्यांकन समीक्षा गर्ने जिम्मा प्रिय पाठक माझ नै छोडेर गएका छौं । हामीलाई तपाईंको प्रतिक्रियाले नैं भावी दिनमा परिष्कृत गरी कुशल मार्ग पहिल्याउन सहयोग पुग्नेछ । त्यो तपाईंहरूले अबस्य गर्नुहुने विश्वास व्यक्त गर्दछौं ।


यस सम्पादकीयमार्फत हामी फेरि एकपटक भन्छौँ "जबाफदेही सञ्चार हाम्रो प्रतिवद्धता" हो, र सत्यको पक्षमा कलम चलाउनु हाम्रो धर्म। 


जिज्ञासा मिडिया परिवार

  • Jigyasanepal

थप