Breaking News
अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||     निचोड    ||     आज राति बागमती–गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     मनसुनी प्रणाली सक्रिय : बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सार्ने परम्परासँगै चतुर्मास व्रतको शुभारम्भ    ||    

राष्ट्रिय परिचयपत्र अब आफैँ डाउनलोड गर्न सकिने

  •   १ महिना अघि | ५ असार २०८३, शुक्रबार

काठमाडौं, असार ५ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा थप सहजता ल्याउँदै सम्बन्धित नागरिकले आफ्नै राष्ट्रिय परिचयपत्र अनलाइनमार्फत डाउनलोड गर्न सक्ने प्रणाली सञ्चालनमा ल्याएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले शुक्रबारदेखि परीक्षण (पाइलट) का रूपमा उक्त सेवा सुरु गरेको जनाएको छ। विभागका अनुसार नागरिकले राष्ट्रिय परिचयपत्रसम्बन्धी वेब पोर्टलमार्फत आफ्नो फोटो तथा अनलाइन प्रमाणीकरण (भेरिफिकेसन) क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड डाउनलोड गर्न सक्नेछन्।

सरकारले सार्वजनिक सेवामा सुधार ल्याउने उद्देश्यले अघि सारेको १०० बुँदे कार्ययोजनाअन्तर्गत यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। उक्त कार्ययोजनाको बुँदा नम्बर २ मा विभागको प्रणालीबाट फोटो र क्यूआर कोडसहितको राष्ट्रिय परिचयपत्र कार्ड सम्बन्धित व्यक्तिले आफैँ डाउनलोड गर्न सक्ने प्रणाली विकास गर्ने उल्लेख गरिएको थियो।

विभागका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरिसकेका नागरिकले आफ्नो नाम (नेपाली वा अंग्रेजी), जन्ममिति तथा नागरिकता जारी भएको मिति प्रविष्ट गरी परिचयपत्र डाउनलोड गर्न सक्नेछन्।

हालसम्म विभिन्न सार्वजनिक निकाय तथा संस्थाले विभागबाट मुद्रित फोटोसहितको राष्ट्रिय परिचय नम्बरको निस्साका आधारमा सेवा प्रवाह गर्दै आएका थिए। अब भने डाउनलोड गरिएको परिचयपत्रमा रहेको क्यूआर कोड स्क्यान गरी देखिने विवरण र नागरिकले प्रस्तुत गरेको परिचयपत्रको विवरण रुजु गरेर सेवा दिन विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

यस व्यवस्थाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न लामो समय कुर्नुपर्ने झन्झट कम हुनुका साथै नागरिकलाई सेवा प्राप्तिमा थप सहजता पुग्ने अपेक्षा गरिएको छ।

डाउनलोड गर्न आवश्यक विवरण:

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त भएको हुनुपर्ने

नाम (नेपाली वा अंग्रेजी)

जन्ममिति

नागरिकता जारी भएको मिति

सेवा उपलब्ध हुने पोर्टल:

https://citizenportal.donidcr.gov.np/ne⁠�

यो व्यवस्था लागू भएसँगै राष्ट्रिय परिचयपत्र प्राप्ति र प्रमाणीकरण प्रक्रिया थप डिजिटल, छरितो र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप