काठमाडौं: पलेशा गोवर्धनले पारालिम्पिक खेलमा नेपालका लागि ऐतिहासिक कास्यपदक जितेर नाम कमाएकी छन्। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत के–४४ वर्गको महिला ५७ केजी तौल समूहमा उनले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी हुन्। यस उपलब्धिसँगै, पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।
पहिलो चरणमा, पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० को ठूलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएपछि उनी रिपाचेजमा पुगेकी थिइन्। रिपाचेजमा उनले फ्रान्सकी सेफी कार्भजनलाई २–१ ले हराउँदै कास्यपदक नजिक पुगेकी थिइन्।
पलेशाले यसअघि चीनको ताइयानमा भएको पारालिम्पिक एसियाली छनोट प्रतियोगितामा स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी थिइन्। उनले पारालिम्पिक छनोट चरण पार गर्दै प्रतियोगितामा भाग लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि बनाएकी थिइन्।
यसअघि, पलेशाले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि ऐतिहासिक कास्यपदक जितेकी थिइन्।
नेपालले २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो। १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन्।
पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गरिसकेकी छन्। २०१९ मा जोर्डनमा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र टोकियो पारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी पलेशाले, टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान प्राप्त गरेकी थिइन्। साथै, उनले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।
- Jigyasa media